राजनीति

रास्वपालाई एमालेले भन्यो- दलैपिच्छे सम्झौता गरिँदैन

सत्तासीन दल नेकपा (एमाले) ले दलैपिच्छे सम्झौता नगर्ने बताएको छ। संसद् अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रति लक्षित गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले यस्तो बताए।

शुक्रबार (आज) संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानीगर्दै उनले भने, 'सरकारले दलैपिच्छे सम्झौता गर्दै हिँड्दैन। माओवादी केन्द्रसँगको सम्झौताका आधारमा संसद् चल्छ। सम्झौता गरिएकै छ।'

उनले रास्वपाले सरकारले सहमति गरेपछि पनि 'स्टन्ट' गरिरहेको भन्दै आरोपित गरे। 'आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो। अर्को दिन गरौँ भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनुभयो,' उनले थप भने।

भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले संसद्‌मा नाराबाजी गर्ने गरेको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यसूची थियो तर, रास्वपा नाराबाजीमा उत्रिएपछि उक्त कार्यक्रम कार्यसूचीबाट हटाइयो। रास्वपाले गत जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आएको छ।

रास्वपाले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग गरेको छ। उसले यो पनि भनेको छ कि माग पूरा नभएसम्म संसद् खुल्दैन।

प्रकाशित: ६ असार २०८२ १४:५२ शुक्रबार

#MaheshBartaula # #NagarikNews #Raswapa