राजनीति

धोएको मूला जस्तो सग्लो पार्टी खोजेर पाइँदैन: अर्थमन्त्री

नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एमालेमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताएका छन्।

समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको उनले जिकिर गरे। यस पार्टीमा देखिएका समाधानका लागि कसैको सहयोग नचाहिने उनले स्पष्ट पारे।

नेकपा एमाले जनसङ्गठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सो कुरा बताए।

‘कतैपनि सग्लो पार्टी भेटिँदैन। धोएको मुला जस्तो, गंगाजल जस्तो पार्टी भेटिँदैन’ उपाध्यक्ष पौडेलले भने ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो। जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ।’ एमालेमा केही केही समस्या भए पनि तिनलाई नीति र विधीको माध्यमबाट समाधान गरिने उनले बताए।

उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकोले त्यसको तयारीमा पार्टी लागिरहेको जानकारी दिए। भदौको तेस्रो साता हुने विधान महाधिवेशनले १० औं राष्ट्रिय महाधिवेशनपछि पार्टीले वैधानिक रुपमा सच्याउनु पर्ने, कार्यान्वयन गर्न भएका अप्ठ्यारालाई सहज बनाउन विधान महाधिवेशनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

‘विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशन देखि हालसम्म पार्टी संगठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रुपमा नै सुधार गर्ने विधि तय गर्नेछौं’ उपाध्यक्ष पौडेलले भने ‘केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषयहरु प्रस्ताव गर्दछ। यी विषयहरु हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौँ।’

उनले विधान महाधिवेशन नै नभई पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न जनसङ्गठनलाई निर्देशन दिए।

‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौँ’ पौडेलले भने ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौँला। एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन।’

प्रकाशित: ४ असार २०८२ १५:४८ बुधबार

#NepaliNews