राजनीति

योगेश भट्टराईको प्रश्न: दोषी सभामुख हो कि हाम्रो इगो?

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अडानका नाममा प्रक्रियालाई बन्धक नबनाउन आग्रह गरेका छन्। 

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले छलफल गरेर सकेसम्म सर्वस्वीकार्य प्रणाली स्थापनामा जोड दिँदै यस्तो आग्रह गरेका हुन्। उनले सभामुखका बारेमा सुविधा अनुसारको व्याख्या भइरहेको पनि जिकिर गरेका छन्।

नाराबाजीका बीचमा संसद् चल्नु राम्रो नभएको तर पहिलो पटक यस्तो भएको भन्दै प्रश्न समेत गरे। विगतका प्रत्येक सभामुखका पालामा कुनै न कुनै दलले वेलमा नारा लगाएको बताउँदै उनले भने, 'वर्तमान सभामुखका बारेमा टिप्पणी गर्ने मीडिया वा महानुभावले पहिलेका सभामुखका बारेमा के लेखिएको थियो? के बोलिएको थियो? एकपटक आफैँलाई ऐनामा हेर्ने हो कि?'

'कस्ता विषयमा बैठक अवरुद्ध गर्ने? सबैको सहमति कसरी बनाउने? सहमतिको न्यूनतम आधार केलाई बनाउने? बहुलवादी समाज र बहुदलीय प्रणाली भएका मुलुकमा हरेक विषयमा सबैको सहमति हुनै पर्छ भन्ने ग्यारेन्टी कस्ले गर्न सक्छ? बहुमत र अल्पमतको अभ्यास कसरी गर्ने?' सचिव भट्टराईले प्रश्न गरे। 

प्रकाशित: २ असार २०८२ ०८:२७ सोमबार

#NepaliNews #NagarikNews