नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नैतिकतामाथि प्रश्न उठाएको छ।
सहकारी ठगी प्रकरणमा सांसद पदबाट निलम्बित व्यक्ति नै कसरी पार्टीको संसदीय दलको नेता रहिरहन सक्छ भन्दै कांग्रेसले प्रश्न गर्दा आइतबारको प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ।
बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्ता पाँच-पाँचवटा मुद्दा खेपिरहेका र अदालतले समेत थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएका व्यक्तिलाई पार्टी सभापति र संसदीय दलको नेता बनाइराख्न कुन नैतिकताले दियो भनी प्रश्न गरे।
विगत केही दिनदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गरिरहेको रास्वपालाई लक्षित गर्दै घिमिरेले भने, ‘अरूसँग नैतिकता खोज्ने साथीहरूले आफैंभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न म आग्रह गर्दछु।’
उनले संसद सदस्यबाट निलम्बित भइसकेका व्यक्ति नै संसद सचिवालय र निर्वाचन आयोगको अभिलेखमा दलको नेता र पार्टी सभापति रहिरहनु आफैँमा विरोधाभासपूर्ण भएको बताए।
घिमिरेले बोलिरहँदा रास्वपाका सांसदहरूले आफ्नो स्थानबाट उठेर निरन्तर विरोध र होहल्ला गरेका थिए।
प्रकाशित: १ असार २०८२ १३:२७ आइतबार