पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको जग्गा खरिद बिक्री प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले छलफल गरेका छन्।
यसअघि नेपालसँग टेलिफोनमा कुराकानी गरिरहेका दाहालले बिहीबार भने भौतिक रूपमै भेटघाट गरेका हुन्। भिजिट भिसा दुरुपयोग प्रकरणमा संसद्मा विपक्षी दलहरूले अवरोध गरिरहेका बेला दाहाल–नेपालबीच संवाद भएको हो।
संवादको क्रममा नेपालका अलावा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर पनि थिए। माओवादीबाट दाहालसहित उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे थिए। एकीकृत समाजवादी संसद् अवरोध नगर्ने पक्षमा रहेको छ। भेटघाटको क्रममा मन्त्रिपरिषद्ले गरेका निर्णयहरूको बारेमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको विषयमा पनि छलफल भएको थियो।
२०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरेको थियो। २०६६ साल माघ १८ गतेको मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय गराइएको थियो। जसमध्ये ३५३ रोपनी जग्गा हाउजिङ कम्पनीलाई बेचिएको थियो। एकीकृत समाजवादी यो प्रकरणको प्रतिरक्षा गर्न पार्टीका तर्फबाट परिवर्तन राईको संयोजकत्वमा ३ सदस्यीय मिसिल अध्ययन कमिटी गठन गरेको छ।
कमिटीमा दुर्गाप्रसाद चिमरिया र गजबहादुर ऐरी सदस्य रहेका छन्। तीनै जना पार्टी कानून विभागका सदस्य हुन्। यसअघि नेपाल आफैँले कानूनवि्दहरू वरिष्ठ अधिकवक्ताद्वय शम्भु थापा र गोविन्द बन्दीसँग छलफल गरेका थिए।
प्रकाशित: २९ जेष्ठ २०८२ १६:०७ बिहीबार