पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको घोचपेच सामाजिक सञ्जालमा भाइरल छ । चीनबाट फर्किए लगत्तै भण्डारीले गरेको पूर्वी नेपालको यात्रालाई लिएर ओलीले गरेको टिप्पणीले उनीहरू बिचको मतभेद बढेको देखिन्छ । अझ त्यसमा पनि भण्डारीले आफूले जिल्ला जाँदा कसैलाई सोध्नु नपर्ने टिप्पणी गरेपछि मतभेद चुचुरोमा पुगेको समेत आँकलन गरिएको छ । यसैबिच एमालेका अध्यक्ष ओलीलाई चुनौती दिन सक्ने भण्डारी मात्र रहेको भन्दै एमालेमा गुट देखिएको तर्क पनि चल्यो ।
तर यस्तोमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने फरक धारणा राखेका छन् । उनले नेकपा (एमाले)मा पार्टी अध्यक्षको विकल्प खोज्न केपी ओलीले मात्र सक्ने बताएका छन् ।
‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीलाई चुनौती दिने भनि गरिएको प्रचारबाजी हास्यास्पद हो,’ उनले भनेका छन्, ‘नेकपा एमालेमा अध्यक्ष केपी ओलीको विकल्प स्वयं केपी ओलीले मात्र खोज्न सक्छन् ।’
बस्नेतले भनेका छन्, ’नेकपा (एमाले)का अध्यक्ष ओलीले आफ्नो लोकप्रियताको ग्राफ चेक गरेका छन् । पछिल्लो समय पार्टीभित्र र सिङ्गो मुलुकमै आफ्नो नेगेटिभ क्रेजप्रति उनी राम्रोसँग जानकार छन् । यस अर्थमा उनले वर्तमान अवस्थामा आफ्नो विकल्प खोज्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेको र सबैभन्दा उपयुक्त पात्रका रूपमा पूर्व राष्ट्रपति भण्डारीलाई रोजेको बस्नेतको बुझाइ छ ।
‘तर यही कुरा उनले बडो चलाखीपूर्ण र घुमाउरो तरिकाले पूरा गर्न खोज्दै छन्,’ उनले थपे, ‘कतिपयले यही चलाकीलाई विद्या भण्डारीले एमालेका अध्यक्ष ओलीलाई चुनौती दिन खोजेको रूपमा अर्थ्याएका छन्, जुन साँचो हैन ।’
प्रकाशित: २९ जेष्ठ २०८२ ०९:०९ बिहीबार