राजनीति

कांग्रेसलाई मनीष झाको प्रस्ताव: देश यसैगरी लुट्न पाउनुपर्छ भनेर लिखित रूपमा भन्नुस्, हामी हाम्रा माग छाडिदिन्छौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले आफूहरूको माग पूरा नभएसम्म सदन नखुल्ने बताएका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।

'सदनमा अहिले भइरहेको अवरुद्ध हो। र यो त्योबेलासम्म लम्बिन्छ, जतिबेलासम्म मागहरू पूरा हुँदैनन्,' उनले भने, 'गृहमन्त्रीको राजीनामाको विषय फेरिएला तर, समिति बन्ने कुराबाट हामी ब्याक हुँदैन।'

अगाडि उनले भने, 'मैले आज नेपाली कांग्रेसका एकजना नेतालाई भनेँ कि तपाईंहरूले तीनवटै माग छाड् भन्नुहुन्छ भने एउटा सर्तमा छाड्छौँ, तपाईंहरूले गृहमन्त्रीको राजीनामा पनि आउँदैन, समिति पनि बन्दैन र प्रधानमन्त्री आएर जवाफ पनि दिनुहुन्न भन्नुहुन्छ भने र देश यसरी नै चल्छ, यसैगरी लुट्न पाउनुपर्छ भनेर लिखित रूपमा दिन सक्नुहुन्छ भने हामी सबै माग छाड्छौँ।' 

रास्वपासहितका दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने र समिति बन्नुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित: २८ जेष्ठ २०८२ १९:४६ बुधबार

#manishjha