राजनीति

निर्वाचन आयोगद्वारा नेसपालाई पत्र

नेपाल समाजवादी पार्टी (नेसपा) ले अदालतको मानहानि हुने कुनै पत्राचार र कारबाही नगर्न निर्वाचन आयोगलाई जानकारी गराएको छ। 

नेसपाले सोमबार निर्वाचन आयोगलाई पत्र लेख्दै अदालतको मानहानि हुने कुनै पत्राचार नगर्ने जानकारी गराएको नेसपाका महासचिव रमेशप्रसाद यादवले बताए। यसअघि आयोगले नेसपालाई नयाँ शक्ति पार्टीको लेटर हेड र चिन्ह प्रयोग नगर्न सचेत गराएको थियो। नेसपाले २०७८ वैशाख १५ गते आयोगमा दल दर्ता भएको र सोही आधारमा आयोगले साउन १२ गते नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता भएको स्पष्ट पारेको छ।

आयोगमा दल दर्ता हुँदा नयाँ शक्ति नभएकाले कारबाही अगाडि नबढाउन नेसपाले जानकारी गराएको हो। ‘निर्वाचन आयोग नेपालको २०७८ वैशाख १५ को निर्णयअनुसार दल दर्ता नं १८२ बाट समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो’, पत्रमा उल्लेख गरिएको थियो, ‘आयोगको २०७९ साउन १२ को निर्णयअनुसार नाम परिवर्तन भई नेपाल समाजवादी पार्टी दर्ता भएको हो।’ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) होइन’, जानकारी पत्रमा भनिएको छ। साथै नेपाल समाजवादी पार्टीको पदाधिकारीसम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको आयोगलाई जानकारी गराएको छ।

‘नेपाल समाजवादी पार्टीको पदाधिकारी सम्बन्धमा विवाद हुँदा म रमेशप्रसाद यादव नेपाल समाजवादी पार्टीको अख्तियारप्राप्त महासचिवको हैसियतले २०८० फागुन २८ गते कार्यालय सचिव रोशन पोखरेलले मेरो अधिकार हनन गरी गरेको पत्राचार सो आधारमा पदाधिकारी थपघट भएको निर्णय, आयोगबाट भए/गरेका सबै निर्णय पत्राचारसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरी पाऊँ भन्ने नेपाल समाजवादी पार्टीको संयुक्त अध्यक्षमध्येका डा. बाबुराम भट्टराई निर्वाचन आयोग नेपालउपर समेत सर्वोच्चमा ०८१–डब्लुओ–०२५६ को उत्प्रेषण परामादेश रिट निवेदन २०८१ भदौ २१ मा दिइएकोमा हालसम्म चलिरहेको मुद्दामा असर पर्ने गरी अदालतको मानहानि हुने गरी कुनै पत्राचार कामकारबाही नगर्ने जानकारीसाथ अनुरोध गर्दछु’, पत्रमा उल्लेख छ।

प्रकाशित: २७ जेष्ठ २०८२ ०७:५६ मंगलबार

#NagarikNews