राजनीति

संसद् बैठक २ बजेदेखि सञ्चालन हुन्छ : सभामुख

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजे संसद् बैठक हुने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनी अवलोकनपछि उनले केही दिनदेखि अवरुद्ध बैठक आज २ बजे सुरु हुने बताए।

‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,’ सभामुख घिमिरेले भने, ‘सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरु हुन्छ।’

उनले बजेटको छलफल गर्न लागिएको अवस्थामा बैठक अवरुद्ध हुँदा सांसद संख्या घटाउनुपर्ने र विधि पुर्‍याएर छलफल गर्नुपर्ने बताए। ‘नोक्सानी हुने त भइसक्यो,’ उनले भने, ‘अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ।’ सभामुख घिमिरेले बजेटमाथिको छलफल समयमै सक्न कार्यसूची तयार हुने बताए। 

प्रकाशित: २६ जेष्ठ २०८२ १२:५५ सोमबार

#NagarikNews