राजनीति

थाके राजावादी: लिङ्देन भन्छन्-बर्खा लागिसक्यो, ठुलो आन्दोलनको समय छैन

यसै पटक पूर्व राजा ज्ञानेन्द्र शाहलाई नारायणीहिटीको राजगद्दीमा बसाउने भन्दै आन्दोलन थालेका राजावादीहरू सुस्ताएका छन्। पछिल्ला केही दिनयता उनीहरूका गतिविधि पनि कम हुँदै गएका छन्। यद्यपि हालसम्म घोषित रूपमै आन्दोलन स्थगित भने गरेका छैनन्। 

यसैबिचमा शनिवार राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भने बर्खा लागिसकेको भन्दै अब आन्दोलन उपयुक्त नहुने प्रतिक्रिया दिएका छन्।

शनिवार झापाको हल्दिबारीमा पुगेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले बर्खा लागिसकेकाले ठुलो आन्दोलनको समय अहिले नरहेको बताएका हुन्। 

उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दु राष्ट्रका लागि मात्रै नभएको भन्दै उपयुक्त समयमा राप्रपाले ठुलो आन्दोलन गर्ने बताए। राप्रपाले गरिरहेको आन्दोलन देशमा सुशासन र विकासका लागि पनि भएको लिङ्देनको भनाई छ। 

यस्तै उनले वर्तमान संविधानमा रहेका कतिपय कुरामा पार्टीको फरक मत रहे पनि कतिपय राम्रा व्यवस्था रहेकाले त्यसको समर्थन गर्ने पनि बताए। 

प्रकाशित: २४ जेष्ठ २०८२ २०:१६ शनिबार

#Rajendra Lingden #Rajabadi Aandolan