उपसभामुख इन्दिरा रानाले बकर ईद (ईद उल अज्हा) पर्वले त्याग, समर्पण र एकताको भावना पैदा गरी सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन्।
इस्लाम धर्मावलम्बीको महान पर्व बकर (ईद उल अज्हा) को अवसरमा आज स्वदेश तथा विदेशमा रहेका समस्त मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गरेकी हुन्। उनले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र भएको उल्लेख गर्दै संविधानले सबै धर्म, जाति, संस्कृति र समुदायलाई समान अधिकार दिएको बताएका छन्।
शुभकामना सन्देशमा भनिएको छ, 'विभिन्न जातजाति, धर्म र समुदाय अनुसारका आआफ्नै संस्कृति, परम्परा र चाडपर्वले हाम्रो विविधतालाई प्रतिबिम्वित गरेका छन्, हामी सबै नेपाली भए पनि अलग–अलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएका छौँ, विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो।'
बकर ईदमा मुस्लिम समुदायले नमाज पढ्नुका साथै अल्लाहको प्रार्थना गरी हर्षोल्लासका साथ मनाउने गर्दछन्। भाइचारा, पारिवारिक एकता र सद्भावका रूपमा मनाइने यो पर्वमा पवित्र स्थल साउदी अरबको मक्कामा हज गर्न हरेक वर्ष लाखौँ मुस्लिम समुदायका नागरिक पुग्दछन्। बलिदान (कुर्बानी) को पर्वका रूपमा मनाइने यस पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप, एकता र त्यागको भावना जागृत गर्नुका साथै अन्य धर्म र समुदायबीच सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
उपसभामुख रानाले बकर ईदले धार्मिक सहिष्णुता, सामाजिक सांस्कृतिक सद्भाव एवं राष्ट्रिय एकता कायम गर्न विशिष्ट भूमिका खेल्ने विश्वाससहित सबैलाई बकर ईदको शुभकामना दिएकी छन्।
प्रकाशित: २४ जेष्ठ २०८२ ०७:३५ शनिबार