राजनीति

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : अध्यक्ष दाहाल

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न जातजाति, धर्म र समुदाय अनुसारका आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।

इस्लाम धर्मालम्बीको विशेष पर्व बकर ईदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, 'हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन, विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो, यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएका छन्।'

बकर ईद पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष दाहालको विश्वास छ।

बकर ईदमा नमाज पढ्नुका साथै अल्लाहको प्रार्थना गरी हर्षोउल्लास पूर्वक मनाउने गरिन्छ। भाइचारा, पारिवारिक एकता र सद्भावका रूपमा मनाइने यो पर्वमा पवित्रस्थल साउदी अरबको मक्कामा हज गर्न हरेक वर्ष विश्वभरिबाट लाखौँ इस्लाम धर्मालम्बी पुग्दछन्। यस पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप, एकता र त्यागको भावना जागृत गर्नुका साथै अन्य धर्म र समुदायबीच सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष दाहालको भनाइ छ।

नेपाली जनताको ठूलो त्याग र बलिदानबाट २०७२ सालमा सङ्घीय गणतान्त्रिक व्यवस्थासहितको संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले संविधानले नै हाम्रो देश नेपाललाई बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्रको रूपमा परिभाषित गरेको बताएका छन्।

अध्यक्ष दाहालले भनेका छन्, 'सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर ईदले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्नुका साथै सबै वर्ग, धर्म, जातजाति, लिङ्ग र क्षेत्रलाई अधिकारसम्पन्न गराउने गणतान्त्रिक संविधानलाई दृढताका साथ कार्यान्वयन गर्न प्रेरणा मिल्ने विश्वास छ।'

प्रकाशित: २४ जेष्ठ २०८२ ०७:२६ शनिबार

#Nagariknews