पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। आयोगले बिहीबार (आज) पतञ्जलि जग्गा हदबन्दी छुट प्रकरणमा नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
एकीकृत समाजवादीले यसलाई सरकारले प्रतिशोध साँधेको रूपमा अर्थ्याएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्षविरुद्ध सरकारकै निर्देशनमा मुद्दा दायर गरिएको आरोप लगाएका छन्।
नेपाल आफैँले पनि यही बताएका छन्। यता आफूविरुद्ध मुद्दा दर्ता हुँदै गर्दा गृहजिल्ला रौतहट पुगेका नेपालले पत्रकारहरूसँग कुराकानी गर्दै आफूविरुद्ध प्रतिशोध साँधिएको आरोपित गरेका छन्।
पार्टीका सम्मानित नेता झलनाथ खनालले भने यसबारे अहिल्यै नबोल्ने बताएका छन्। नागरिकसँग कुराकानी गर्दै उनले सुरुमा घटनाक्रमको ‘कन्सिस्टेन्सी’बारे बुझ्ने बताए।
‘यो घटनाबारे अहिले धेरै म बोल्दिनँ। पहिले माधव कमरेडको धारणा पनि बुझ्छौँ। घटनाबारे थप कुरा बुझ्छौँ। त्यसबेलाको निर्णय अध्ययन गर्छौँ, के-कस्तो निर्णय भएको थियो, त्यो पनि बुझ्छौँ अनि मात्रै थप बोल्छौँ,’ उनले भने।
प्रकाशित: २२ जेष्ठ २०८२ १५:३४ बिहीबार