नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार सहभागिता, सार्वजनिक क्षेत्रमा सशक्तीकरण, प्रतिनिधित्व र सहभागिता सुनिश्चित भएको कुरा संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धि भएको बताएका छन्।
छुवाछूतमुक्त राष्ट्र घोषणाको १९औँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो कुरा बताएका हुन्। वंशीय विभेदमा आधारित सामन्ती व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गरेको यथार्थविरुद्ध बृहत् शान्ति सम्झौतापछि २०६३ जेठ २१ मा पुनःस्थापित संसद्ले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको उनले स्मरण गरे।
संविधानले छुवाछूत र विभेदजन्य कार्यलाई गम्भीर सामाजिक अपराधका रूपमा व्याख्या गरेको उल्लेख गर्दै दाहालले सन्देशमा भनेका छन्, ‘दलित समुदायको समग्र उत्थानका लागि विशेष पहल, नीति र कार्यक्रम आवश्यक छन्।’
प्रकाशित: २१ जेष्ठ २०८२ १०:३६ बुधबार