राजनीति

‘प्रचण्ड’ले वाइसिएललाई हिंसा भड्काउन उक्साए, अब सशक्त प्रतिवाद गर्छौ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो जारी आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन पूर्ण प्रतिबद्धता जनाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनलाई कमजोर पार्ने भ्रामक समाचार र हिंसात्मक अवरोधको कडा विरोध गरेको छ।

बैठकले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राप्रपा, यसको नेतृत्व र आन्दोलनलाई बदनाम गर्ने गरी फैलाइएका कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता भ्रामक समाचारबाट कोही पनि भ्रममा नपर्न र सामूहिक प्रतिवाद गर्न पार्टीले सम्पूर्ण कार्यकर्तालाई आह्वान गरेको छ। 

साथै, यस्ता गतिविधिमा संलग्न कुनै पनि नेता वा कार्यकर्तालाई कडा कारबाही गर्ने निर्णय भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन्। 

यसैगरी, जेठ १९ गते कमलादी मन्दिरमा स्वर्गीय राजा बीरेन्द्र र राजपरिवारको सम्झनामा आयोजित श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट वाइसिएलबाट भएको अवरोधको प्रयासप्रति राप्रपाले सशक्त विरोध गरेको छ। 

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साएको भन्दै राप्रपाले खेद व्यक्त गरेको छ। यस्ता कार्य जारी रहेमा आगामी दिनमा सशक्त प्रतिवाद गर्ने चेतावनी पनि पार्टीले दिएको छ। राप्रपाले आन्दोलनलाई अझ सशक्त बनाउँदै देश र जनताको हितमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रकाशित: २१ जेष्ठ २०८२ ०७:२० बुधबार

#Prachanda #NagarikNews