दुईतिहाइ बहुमत सरकारका गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा दोषी रहेको आरोप छ। यही कारण संसद् ‘डेडलक’ छ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने अडान कसेका छन्। जसकारण गत जेठ १४ गतेयता संसद् (जेठ १५ को बजेट बाहेक) बस्न सकेको छैन।
संसद्को ‘डेडलक’ हटाउनका लागि सभामुख देवराज घिमिरेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्म लागेका छन् तर, प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका दलहरू मानेका छैनन्। उनीहरूकको एकसूत्रीय माग छ— गृहमन्त्री लेखकको राजीनामा।
सभामुख घिमिरेले प्रमुख सचेतक तथा सचेतकहरूसँग पटक-पटक छलफल गरेका छन्, प्रधानमन्त्री ओलीले दलका अध्यक्षको तहमा छलफल गरेका छन्। तर, सहमति जुटेको छैन। दलहरूले आफ्नो अडान दोहोर्याएका छन्— गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि त छानबिन समिति बन्नुपर्छ।

त्यसो त गृहमन्त्री लेखक आफू भने राजीनामा दिने पक्षमा रहेको बताइन्छ। कांग्रेसका एक नेता भन्छन्, ‘गृहमन्त्रीज्यू राजीनामा दिन्नँ भन्नेमा हुनुहुन्न। अहिलेलाई पार्टीले पर्दैन भनेको छ। तत्कालै उहाँले राजीनामा दिनुहुन्छ भन्ने पनि लाग्दैन।’
मङ्गलबार (आज) मात्रै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद माधव सापकोटाको भनाइ पनि यही थियो। संसद् भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘गृहमन्त्रीजी व्यक्तिगत रूपमा राजीनामा दिनको लागि तयार भएको जस्तो पाउँछौँ हामी। तर, गठबन्धन र उहाँको पार्टीले राजीनामा नदिन भनिराखेको जस्तो बुझिन्छ,’ उनले भने।
त्यसो त गृहमन्त्री लेखकले गत जेठ ११ गते बसेको पार्टीको बैठकमा नै आफू राजीनामा दिन तयार रहेको बताएका थिए। तर, त्यसबेला पार्टी सभापति देउवाले नै ‘त्यो पर्दैन’ भनिदिए। पार्टी नेतृत्वबाटै यस्तो प्रतिक्रिया पाएपछि गृहमन्त्री लेखकले त्यसको भोलिपल्ट अर्थात् जेठ १२ गते पत्रकार सम्मेलन गरेर आरोप पुष्टि गर्न चेतावनी मात्रै दिएनन्, पुष्टि भएको खण्डमा राजनीति नै छाड्नेसम्मको घोषणा गरे।
त्यसयता उनका प्रति संसद्मा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका दलहरूले निरन्तर आवाज उठाइरहेका छन् भने सडकमा पनि उनको राजीनामा माग्दै प्रदर्शन भइरहेको छ। तर, उनले राजीनामा दिएका छैनन्। पार्टी सभापति देउवाको राजीनामा दिन नपर्ने भनाइमा महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत, नेता मीन विश्वकर्मालगायतले 'होमा हो' मिलाइरहेका छन्। त्यसले देउवालाई झन् बल पुर्याएको छ।
उनीहरूले त्यो आरोप मूलत: कर्मचारी तहको मात्रै भएको बताउने गरेका छन्। महामन्त्री विश्वप्रकाश शर्माले भनेका छन्, ‘पर गेटमा छानबिन हुँदैछ भनेर भित्र रहेको मान्छेलाई तपाईं नै दोषी हो भन्न मिल्दैन। कुनै रिपोर्टर साथीले लेखेको समाचारका विषयमा रिपोर्टर साथी जति जिम्मेवार बन्नुहुन्छ, निश्चय नै त्यो संस्था पनि जिम्मेवार बन्छ। तर, रिपोर्टर साथीलाई मुद्दा लाग्दै गर्दा सम्पादकलाई गिरफ्तार गरिँदैन।’

उनी उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै त्यसमाथि नै भरोसा गर्नुपर्ने बताउँछन्। जबकि माओवादी, रास्वपालगायतका दलहरूको माग भने राजीनामा नभए संसदीय वा न्यायिक छानबिन समिति छ।
यता नेता मीन विश्वकर्मा पनि गृहमन्त्री लेखकले राजीनामा दिन नपर्ने नै बताउँछन्। 'उहाँको नाम कहीँ मुछिएको छैन। न त उहाँको नाम तीर्थराज भट्टराईले लिएका छन्, न कहीँ मुद्दा-उजुरी नै परेको छ। अनि के कारणले दिने उहाँले राजीनामा ?,’ उनी प्रतिप्रश्न गर्छन्।
कहीँ उजुरबाजुर परेको खण्डमा पार्टीले नै राजीनामा दिनका लागि सुझाव दिने भनाइ विश्वकर्माको छ। ‘यदि त्यसो भएको भए पार्टीले नै उहाँलाई राजीनामा दिनु भन्छ। अहिले त केही नै छैन। किन दिने त उहाँले राजीनामा ? कसैले देऊ देऊ भन्दा नै दिने ? त्यो त होइन होला, भोलिको नजिरको कुरा पनि हुन्छ होला।’
प्रधानमन्त्री ओलीको भनाइ पनि योभन्दा फरक छैन। हिजो बसेको शीर्ष नेताहरूको बैठकमा उनले भिजिट भिसा प्रकरण मुख्यत: कर्मचारीको मात्रै भएको बताउँदै गृहमन्त्री लेखकको राजीनामा दिनेभन्दा पनि संसद् खुलाउनेमा ध्यान दिनुपर्ने बताएका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनको भनाइलाई तत्कालै नकारेका थिए।
के भनिन्छ भने प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका बीचमा गृहमन्त्री लेखकलाई राजीनामा नगराउने सहमति बनेको छ।
किन होल्ड गर्न चाहन्छन् देउवा लेखकको गृहमन्त्री पद ?
२०८१ असार १७ गते यो सरकार गठनको सहमति हुँदै गर्दा धेरैले के भन्थे भने यो सरकार कांग्रेसको होइन, देउवाको हो। भिजिट भिसा प्रकरणसम्म आइपुग्दा यो आरोपलाई बल पुर्याउने दृश्यहरू देखिएका छन्। कांग्रेसकै अरु नेताहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताइरहँदा देउवा भने दिन नपर्ने अडानमा छन्।
त्यसो त देउवा यो गठबन्धनका ‘वेटिङ प्राईम-मिनिस्टर’ हुन्। असार १७ कै मध्यराति ओली-देउवाबीच १८/१८ महिना सरकारको नेतृत्व गर्ने भद्र सहमति बनेको थियो। यसअनुरूप अबको ६ महिनापछि देउवा प्रधानमन्त्री बन्दैछन्।

यो सरकार बनेयता नै ‘डिफेन्सिभ’ बनेका देउवाको रणनीति अहिले पनि प्रधानमन्त्री ओली खुसी पार्नेबाहेक अरु छैन। उनको ध्यान प्रधानमन्त्री बन्ने आफ्नो पालो ‘कोल्याप्स’ नहोस् भन्नेमै देखिन्छ। कांग्रेसकै एक नेता भन्छन्, ‘उहाँलाई गठबन्धन भत्किने डर छ। उहाँ झन् कम बोल्न थाल्नुभएको छ।’
जसै देउवालाई गठबन्धन भत्किने र आफू प्रधानमन्त्री बन्न नपाउने भय छ।
राजनीतिक विश्लेषक विष्णु दाहालको विश्लेषणमा भने यो अलिक फरक देखिन्छ। दाहाल गृहमन्त्री लेखकको राजीनामा प्रधानमन्त्री ओली र देउवा दुबै नचाहने बताउँछन्। लेखकले राजीनामा दिएर आफ्नो राजनीतिक 'करिअर' जोगाउन चाहे पनि प्रधानमन्त्री ओली र देउवाले त्यो नचाहने दाहालको भनाइ छ।
‘अहिलेको सरकार कांग्रेस र एमालेको जस्तो देखिए पनि यो मूलत: देउवा र ओलीको हो। ओली-देउवा परिवारको हो। र, लेखक त्यो परिवारका मानिस हुन्। जब लेखकमाथि प्रश्न उठ्यो, उनको पोलिटिकल करियर धरापमा पर्यो। उनी आफ्नो राजनीतिक करिअर जोगाउनका लागि राजीनामा दिन चाहन्छन् तर, ओली र देउवा त्यसमा तयार छैनन्,’ दाहाल भन्छन्।
यसमा थप प्रष्ट पार्दै विश्लेषक दाहाल भन्छन्, ‘यदि लेखकले छाडे भने त्यसको जरो कहाँसम्म पुग्छ भन्ने ओली-देउवालाई थाहा छ। त्यसैले मलाई लाग्छ, आउँदो २८ गतेभन्दा अगाडि लेखक पदबाट हट्दैनन्। किनभने प्रेम राई अहिले उनीहरू पक्षका मान्छे होइनन्।’
प्रकाशित: २० जेष्ठ २०८२ २१:२२ मंगलबार



