राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद हरि ढकालले आफूसँग मात्रै भिजिट भिसामा असुली गरिएका १२ सय वटा प्रमाण आएको दाबी गरेका छन्। मङ्गलवार पत्रकारसँग कुरा गर्दै सांसद ढकालले यस्तो दाबी गरेका हुन्।
‘हामीले माननीय शिशिर खनाल, माननीय सोविता गौतम, मैले र माननीय मनीष झाले सामाजिक सञ्जालमा ‘तपाईँहरू भिजिट भिसामा जाँदै गर्दाको बखतमा कसरी, कुन ठाउँमा, कुन प्रयोजनलाई, कसरी रकम पठाउनुभयो भनेर क्याम्पेन गरेका थियौँ,’ सांसद ढकालले भने, ‘त्यसपश्चात् मेरोमा मात्रै १२ सय भन्दा बढी त्यहाँ पैसा बुझाएका प्रमाणहरू आएका छन्। माननीय शिशिरकोमा उस्तै छन्, सोविता जीकोमा उस्तै छ।’
आफूसँग आएका प्रमाणमा भिजिट भिसामा जानका लागि दुई किसिमले रकम बुझाउने गरेको देखिएको पनि उनले बताए। उनले भने, ‘एयरपोर्टमा बुझाउने एउटा रकम हुँदो रहेछ, एउटा दलाललाई बुझाउने रकम हुँदो रहेछ। दलाललाई बुझाउने रकममा पनि पार्सियल्ली कुनै क्यास(नगद) कुनै बैङ्क रकमान्तर गरिएको छ। र, एयरपोर्टमा बुझाउँदा प्रायजसो नगदमा कारोबार भएको रहेछ।’
आफूसँग सम्पर्कमा आएका केही प्रमाणसहितका व्यक्तिहरूले उद्धारको याचना गरेको पनि सांसद ढकालले बताए। ‘यहाँबाट दुबईमा दिदीबहिनी पठाइएको छ, दुबईबाट फेरी कुबेत लगिएको छ। हामीसँग आएको प्रमाणमा ती दिदीबहिनीको भिडिओ पनि आएको छ, उद्धारको लागि आह्वान गरिरहनुभएको छ,’ उनले भने।
यति संवेदनशील विषयमा सरकारले देखाएको रवैया गलत रहेको दाबी गर्दै उनले उच्च स्तरीय आयोग बन्रैपर्ने अडान राखे।
प्रकाशित: २० जेष्ठ २०८२ १४:४१ मंगलबार