राजनीति

संसद्को गतिरोध अन्त्यका लागि सभामुखको पहल जारी, प्रतिनिधिसभा बैठकमा ढिलाइ

सभामुख देवराज घिमिरेले संसदीय गतिरोध अन्त्यका लागि पहल जारी राखेका छन्।

प्रतिनिधि सभामा मंगलबारदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची भए पनि प्रतिपक्षी दलको अवरोध जारी रहेपछि सभामुखले सहमतिको पहल जारी राखेका हुन्। प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइए पनि अझै सुरु हुन सकेको छैन।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत नाम जोडिएपछि राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन्। नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, नेकपा (एकीकृत समाजवादी) लगायत दलले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने तयारी गरेका हुन्। संविधानमा नै जेठ १५ गते बजेट सार्वजनिक हुने कार्यतालिका रहेकाले सो दिनको बैठकमा भने उनीहरुले अवरोध पुर्याएनन्।  

सहमतिको पहलस्वरुप सभामुख घिमिरे आज बिहान माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्। गतिरोध अन्त्य गर्दै संसद बैठकमा बजेटमाथिको छलफल चलाउन दिन सभामुखले गरेको आग्रहमा प्रमुख सचेतक पाण्डेले गृहमन्त्रीले राजीनामा नदिएसम्म अवरोध कायम राख्ने बताएको सभामुखको सचिवालयले उल्लेख गरेको छ।

माओवादीले आजैमात्र पनि अवरोध कायम राख्ने बताएको थियो। पाण्डेसँगको छलफल लगत्तै अहिले सभामुखले नेकपा (एमाले)का मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्।

प्रकाशित: २० जेष्ठ २०८२ ११:५३ मंगलबार

#Pratinidhi Sabha #NagarikNews