राजनीति

के हो ‘झोले’ को अर्थ, किन एमाले नेताहरूले आफूलाई 'झोले' करार गरिरहेका छन् ?

गत शनिबारदेखि ‘झोले’ शब्द चर्चामा छ। प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनताको झोले भएको बताएपछि यो शब्द चर्चामा आएको हो।

त्यसो त झोले’ शब्द आफैँमा नकारात्मक शब्द होइन। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’मा झोलेका तीनवटा अर्थहरू छन्। पहिलो, अर्कोको झोला बोक्ने, दोस्रो, झोल भएको; रसदार र तेस्रो झोला बोकेर हिँड्ने।

प्रधानमन्त्री ओलीले आफूलाई भनेको पहिलो नम्बरको झोले हो। जहाँ, उनले आफूले जनताको झोला बोक्ने गरेको जिकिर गरेका छन्। यथार्थमा त्यो हो वा होइन, जनताले विश्लेषण गर्ने कुरा रह्यो।

तर, नेपाली राजनीतिक वृत्तमा भने झोले शब्दलाई ‘नेगटिव कोनोटेसन’मा बुझिन्छ। अर्थात्, खासगरी राजनीतिक रूपमा एकले अर्कालाई गाली गर्नुपर्‍यो, रोष पोख्नुपर्‍यो भने झोले शब्दको प्रयोग गरिन्छ। अझ भन्नुपर्दा, झोले शब्दले नेताका 'पिछालगु'हरूलाई जनाइन्छ।

यही सन्दर्भमा प्रधानमन्त्री ओलीले आफूलाई जनताका झोले भने, त्यसपछि यो शब्द चर्चामा आयो। अर्थात्, प्रधानमन्त्री ओलीले नेपाली राजनीतिक वृत्तमा झोलेका जुन अर्थ छन्, त्यसलाई सामान्यीकरण गर्न खोजेका छन्। ओलीको उक्त ‘अभियान’ मा एमालेका सबै नेताहरूले साथ दिएका छन्।

अहिले एमाले नेताहरू सबैले ‘म झोले हो’ भन्ने पोस्टर सामाजिक सञ्जालहरूमा साझेदारी गरिरहेका छन्। सुरुमा प्रधानमन्त्री ओलीले नै यस्तो पोस्टर साझेदारी गरेका थिए। यसपछि एमालेका सबै नेताहरूले यो साझेदारी गरेका छन्। यो क्रम जारी नै छ।

यस्तो पोस्टर साझेदारी गर्ने नेताहरूमा अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताहरू छन्। नेताहरूले उही टेम्प्लेटमा आफ्नो फोटो राखेर पोस्टरहरू साझेदारी गरिरहेका छन्। 

यस्तै एमाले सांसदहरू सुनिता बराल, सुहाङ नेम्वाङसहित एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्गठनका अध्यक्ष क्षितिज थेवेलगायतका नेताहरूले पनि यस्तो पोस्टर साझेदारी गरिरहेका छन्।

प्रकाशित: १९ जेष्ठ २०८२ १४:३४ सोमबार

#NagarikNews #shankarpokharel #kpsharmaoli #BishnuRimal #MaJholeHo