नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नुवाकोटमा राजावादी युवकमाथि भएको कुटपिटको घटनाबारे प्रष्टीकरण दिँदै ती युवकले ‘जीवनभरि पुग्ने प्रतिवाद भेटेको’ टिप्पणी गरेका छन्। उनले उक्त घटनालाई ‘जनप्रतिवाद’ को संज्ञा दिए।
आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नुवाकोटमा ती युवाले अराजकता देखाएपछि जनताले नै प्रतिवाद गरेको दाबी गरे।
घटनाको विवरण दिँदै उनले भने, ‘मैले सम्झाउँदा सम्झाउँदै नमानेर अराजकता देखाएपछि हामीले होइन जनताले नै प्रतिवाद गरेका हुन्। उसले राम्रै प्रतिवाद... जीवनभरि पुग्ने प्रतिवाद भेट्यो। म राजावादीहरूको भण्डाफोर गर्दै थिएँ, उसलाई सहिनसक्नु भएछ।’
सोही क्रममा उनले राजावादीहरू छाडा भएको र पैसाको आडमा भाडामा मान्छे उतारेर व्यवस्थामाथि आक्रमण गर्ने प्रयास गरिरहेको आरोप लगाए।
‘उनीहरू छाडा भएर हामीमाथि आक्रमण गर्ने प्रयास गर्दैछन्। ईंटको जवाफ पत्थरले दिइन्छ,’ अध्यक्ष दाहालले चेतावनी दिँदै भने, ‘आफूहरूमाथि वा व्यवस्थामाथि आइलाग्नेमाथि जाइलाग्न वाईसीएलका कार्यकर्तालाई पनि तयार रहन आग्रह गर्दछु।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कुनै हैसियत र इच्छाशक्ति नभएको, केवल गफ गर्ने काम मात्र गरेको आरोपसमेत लगाए।
एमालेले विगतमा मान्छे उतार्दा देश दुनियाँमा पार्टीको बेइज्जत भएको पनि उनको टिप्पणी थियो।
प्रकाशित: १८ जेष्ठ २०८२ १९:३८ आइतबार