राजनीति

त्रिलोकप्रतापका बुबाको प्रश्न: नमारिएको भए मेरो छोरा कहाँ छ सरकार?

आलम सफाइ प्रकरण

जिउँदै जलाइएकाहरूको कुनै प्रमाण नभएको ठहर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले गरेपछि तिनीहरू कहाँ छन् भन्ने प्रश्न उठेको छ। बोरामा राखेर इँटाभट्टामा नपोलिएका भए त्रिलोकप्रताप कहाँ छन् भनेर उनका ८४ वर्षीय बुबा श्रीनारायण सिंहले प्रश्न गरेका छन्। उनले उच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै भने, ‘मारिएको प्रमाण नपुगेको भए मेरो छोरा सरकारले खोजिदिनुपर्छ।’

आफू बुढो भइसके पनि सास छउन्जेल छोराको न्यायका लागि लड्ने अठोट उनले गरे। ‘योभन्दा ठुलो प्रमाण के हुन्छ? मेरो छोरो कहाँ छ? सरकारको काम हो पत्ता लगाउने। छोराको सास वा लास दिनुपर्‍यो, पत्ता लगाएर कहाँ छ, के छ? हामी त साधारण मान्छे हौं।’

मारिएका बेला २२ वर्षको उमेरका त्रिलोक श्रीनारायणका कान्छा छोरा हुन्। उनी भारतको सीतामढी गोयन्का कलेजमा राजनीतिकशास्त्र लिएर स्नातक पढ्दै थिए। कांग्रेस समर्थक श्रीनारायण लाई राजनीतिक शास्त्र पढिरहेका छोरा चुनाव प्रचारप्रसारमा सघाउने गरी आलमले नै झिकाउन लगाएका थिए।

राजनीति विषय लिएर पढिरहेका त्रिलोकले फर्केर भाषण लेख्नेदेखि प्रचारप्रसारमा निकै सहयोग गरेका थिए। ‘यस्तो देशमा जनम भएछ। नेताहरूको खल्तीमा कानुन छ,’ उनले भने, ‘न्यायाधीशको पद धरमराज (धर्म) हुनुपर्छ।’

कांग्रेस नेता पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्ध प्रमाण नपुगेको ठहर गर्दै सफाइ दिएपछि मारिएका व्यक्ति कहाँ छन् भन्ने प्रश्न उठेको हो।

उच्च अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले इँटाभट्टामा जलाएको भन्ने प्रमाण नभएको ठहर गरेका थिए। अदालतले भनेकै सही भए घाइतेहरूलाई बोरामा हालेर इँटाभट्टामा पोलिएको भनिएका ती व्यक्ति कहाँ छन्? कि सास कि लास हुनुपर्ने होइन? रौतहटमा निकै बलिया र शक्तिशाली नेता मानिने आलमका विरुद्ध प्रहरीमा किटानी जाहेरी दिनु पनि ठुलै हिम्मतको कुरा थियो। आलमले सफाइ पाएपछि कतिपय साक्षी र पीडित परिवारलाई त्रास बढेको स्थानीयले बताएका छन्।

प्रत्यक्षदर्शीले यस्तो देखेका थिए

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते रौतहटको राजपुरस्थित शेख इन्द्रिसको घरमा साँझ ६ बजे बम विस्फोट भएको थियो। घटनास्थल आसपासका छरछिमेकी ११ जना साक्षीले अनुसन्धान अधिकारीसमक्ष बम विस्फोटबारे बयान दिएका थिए। उनीहरूले अदालतमा पनि बकपत्र गरेका थिए। शेख इद्रिसको घरगोठबाट विस्फोटको आवाज आएपछि के भएछ भनी उनीहरू हेर्न पुगेका थिए।

‘त्यहाँ पुग्दा गोठका छाना, दिवाल भत्केका थिए। १५/१६ व्यक्ति घाइते थिए। दुई जना मरेका थिए। कसैका आँखा थिएनन् कसैका कान। कसैको टाउको कसैका हात खुट्टा थिएनन्,’ साक्षीहरूले भनेका छन्, ‘घाइते पिन्टु भन्ने त्रिलोकप्रताप सिंह राजपुतको देब्रे खुट्टा र कान थिएन, दाहिने हात थिएन। ओसी अख्तर मियाँको देब्रे हात थिएन। घाइतेहरू सबै छटपटाइरहेका थिए।’

त्यहाँ मोहम्मद आफताव आलम, मोहम्मद महताव आलम, शेख सेराज, शेख भदई, मोहम्मद मोबिन, फजले हक, सगिर आलम, शेख जुमई भन्ने शेख मलकारसमेतले घेरा हाली कसैलाई त्यहाँ जान दिएका थिएनन्। दुईतीन जनाले घाइतेहरूलाई सुई लगाउँदै थिए।’

उनीहरूले हेर्न गएकाहरूलाई त्यहाँबाट लखेटेका थिए। ‘भगाए पनि लुकेर हेर्‍यौं। मरेका र घाइते भएकाहरूलाई समेत उनीहरूले जुटको बोरामा हाली मोहम्मद महताव आलमकै ट्याक्टरको ट्रलीमा लोड गरी गौरीशंकर साहले त्यो ट्याक्टर चलाई निज आलमहरूको भान्जा नाताका व्यक्तिको राजा इँटा उद्योगामा लगी बद्री सहनीलगायत सबै प्रतिवादीहरूले मृतक र घाइतेहरूलाई इँटा पोल्ने चिम्नी भट्टाको भुंग्रोमा हाली जलाएका हुन्,’ साक्षीहरूले भनेका थिए। अर्का प्रत्यक्षदर्शीले बकपत्रमा भनेका छन्, ‘हामीलाई त्यहाँबाट हट्न भनिएकाले म केही पर गएँ। बोरामा ल्याइएका मानिसहरूलाई पालैपालो निकालेर इँटा पकाउने भुंग्रोमा हाल्न लागे। कति मानिस थिए, संख्या भन्न सक्दिनँ। कोही जिउँदै पनि हुनुपर्छ। किनकि बोरामा चलमलाएको मैले देखेको हुँ।’

रौतहट जिल्ला अदालतले मिसिल र प्रमाणकै आधारमा आलमलगायत चार जनालाई जन्मकैदको सजाय ठहर गरेको थियो। बम विस्फोट भएकै बेला घटनास्थल गएका प्रत्यक्षदर्शीले घाइतेहरूलाई बोरामा हाली ट्याक्टरमा लोड गरी लगेको देखेको बताएका थिए। ‘घाइतेहरूलाई चिम्नी भट्टामा हाली जलाई मारेका हुन् भनेको देखिन्छ,’ जिल्ला अदालतको फैसलामा उल्लेख छ।

‘मोहम्मद आफताव आलम, मोहम्मद महताव आलम, शेख सेराज भन्न शेष सराज र बद्री सहनीले तत्काल प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ र १३ को कसुर गरेको देखिएको जनही जन्मकैद सजाय हुने ठहर्छ,’ रौतहट जिल्ला अदालतका न्यायाधीश मातृतकाप्रसाद आचार्यले २०८१ वैशाख १३ मा गरेको फैसलामा भनिएको छ।

प्रकाशित: १८ जेष्ठ २०८२ ०६:४१ आइतबार

# Nagarik # Those burned alive # Dissatisfaction with the verdict