राजनीति

प्रधानमन्त्रीले भने- अगाडि बढेको घोडालाई फर्काउन खोज्दा लात्ता खानुपर्ला, होस गर

‘अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज। घोडाले लात्ताले हान्न सक्छ, होस् गर !’

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनर्स्थापनाको माग राख्दै सडकमा उत्रिएकाहरूलाई शनिबार यही चेतावनी दिए।

उनले निरंकुश राजतन्त्रमा विकास र सुशासन नभएकै कारण जनताले संघर्ष गरेर गणतन्त्र ल्याएको भन्दै अब देश पछाडि फर्कन असम्भव रहेको ठोकुवा गरे।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै मिलेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै अझ सुदृढ बनाउने दिशामा लाग्न आग्रह गरे।

ओलीले ‘प्रधानमन्त्रीलाई लखेट्छौँ’ भन्ने अभिव्यक्ति शान्तिपूर्ण नहुनेतर्फ सङ्केत गर्दै प्रश्न गरे, ‘अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो ? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गर्दछु।’

उनले पैसाको भरमा जम्मा भएका केही मान्छे देख्दैमा गणतन्त्र नडगमगाउने र देश अब कुनै हालतमा पछाडि नफर्कने दाबी गरे।

ओलीले दरबार हत्याकाण्डपछिको राजतन्त्र झनै निरङ्कुश भएको, जनताको अधिकार खोसिएको, विकास नगरेको र देश लुटेर संविधानभन्दा माथि बसी पैत्रिक सम्पत्ति थुपारेको आरोप लगाए।

‘अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो,’ उनले भने, ‘यस्ताहरुले आफूलाई सूर्यका सन्तान भनेर जनतालाई कस्तो बेवकुफ बनाउन खोजिँदैछ ! यस्ता कुराहरुसँग हामी सचेत हुनुपर्छ।’

जनताले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनु सामाजिक उत्तरदायित्व भएको बताउँदै उनले प्रणालीमा केही सुधार आवश्यक परे त्यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी परिमार्जन गर्न सकिने तर प्रतिगमन कुनै हालतमा सम्भव नभएको स्पष्ट पारे।

प्रकाशित: १७ जेष्ठ २०८२ १८:०४ शनिबार