राजनीति

‘राप्रपाले मलाई डर देखाउन खोजेको हो भने म डराएँ, पुग्यो, अब चुप लागेर बसे हुन्छ’

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताएका छन्।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरे।

“निरङ्कुश हुकुमी शासनकालमा यस्ता संघ–संगठन खुल्ने स्थिति थिएनन्। अहिले तपाईंहरु पेसागत र व्यवसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ।”, प्रधानमन्त्री ओलीले भने, “यही जेठ १५ गते हामीले गणतन्त्र दिवसको उत्सव मनायौँ। राजतन्त्र पक्षधरहरुले विरोध प्रदर्शन गरे। उनीहरुलाई जनमत संग्रह भएको लाग्यो रे। तर पहिलो दिन दान (पैसा) दिएर केही मान्छे ल्याइए। दोस्रो र तेस्रो दिन मान्छेहरु घट्दै गए। मेरो नातिले जिस्किएर म डाइनोसर भएँ भन्दै हा...गरेर डर लागेन ? भनेर खेलेको याद आयो। राष्ट्रिय प्रजातन्त्र पार्टीले मलाई राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ, अब भयो, पुग्यो, चुप लागेर घरघरमा बसे हुन्छ। अब राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो। अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज। घोडाले लात्ताले हान्न सक्छ, होस् गर।”

प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण होला ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो ? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे।

प्रकाशित: १७ जेष्ठ २०८२ १७:४५ शनिबार