राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिई रत्नपार्कमा आन्दोलन गर्न लागेको बताएको छ। राप्रपाले सभा नभई आन्दोलन गर्न लागेकाले अनुमति लिनु नपर्ने प्रवक्ता मोहन श्रेष्ठले बताए।
‘सभा गर्न लागिएको भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्थ्यो,’ उनले भने, ‘हामीले आन्दोलन गर्न लागेका हौँ। आन्दोलन गर्नका लागि अनुमति लिनुपर्दैन।'
राप्रपाका प्रवक्ता श्रेष्ठका अनुसार राजवादीहरूले बिहीबार बिहान ११ बजे विभिन्न ठाउँबाट निस्केर दिउँसो एक बजे रत्नपार्कमा जम्मा हुने कार्यक्रम तय गरेका छन्। उनका अनुसार बिहीबारदेखि सुरु हुने भनिएको आन्दोलन शान्तिपूर्ण हुनेछ। सरकारले भने राजावादीहरूलाई बिहीबार काठमाडौँको चक्रपथबाट भित्र छिर्न नदिने तयारी गरेको छ।
राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दल तथा राजवादीहरूले बिहीबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन्।राजवादीहरूले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका थिए। तर उक्त प्रदर्शन हिंसात्मक भई धनजनको क्षति भएको थियो।
प्रकाशित: १५ जेष्ठ २०८२ ०८:२३ बिहीबार