नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै पनि नाममा कायम गरिने जन्मसिद्ध विशेष अधिकार, वंश परम्परामा आधारित तथा अनिर्वाचित शासन सत्ताप्रति असहमति र विरोधको जगमा अहिलेको लोकतान्त्रिक गणतन्त्र खडा भएको बताएका छन्।
गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले लामो सङ्घर्ष र त्यसमा प्राप्त गरेका अनेकौँ अनुभवका आधारमा नेपाली जनता यो ऐतिहासिक उपलब्धिका हकदार बनेको स्मरण गरेका छन्।
शुभकामना सन्देशमा भनिएको छ, 'लोकतन्त्र–गणतन्त्र स्थापनापछि महत्वपूर्ण र ऐतिहासिक उपलब्धिहरू हासिल भए पनि यसले अनेकौँ उतारचढावपूर्ण मोडहरू पार गर्दै अगाडि बढिरहेको छ। देखिने र कतिपय बेला नदेखिने, देशभित्रका र बाहिरका पनि शक्तिहरूद्वारा सिर्जित समस्याहरूसित योग्यतापूर्वक जुध्दै र परिपक्वता प्राप्त गर्दै अहिलेको अवस्थामा हामीहरू आइपुगेका हौँ।'
सार्वभौम नेपाली जनताका प्रतिनिधिहरूद्वारा गणतन्त्रको घोषणा गरिएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले इतिहासमा सुरक्षित यो महान् र ऐतिहासिक प्रसङ्गलाई कसैले पनि बिर्सन नहुने बताएका छन्। 'अग्रगति र प्रगतिलाई देख्न नचाहने/देख्न नसक्ने र पुनःउत्थानको सोच राख्ने पक्षहरू प्रतिक्रियावादी मात्र होइनन्, प्रतिगामी शक्तिका मतियार हुन्, प्रतिगामी नै हुन्। अहिले त्यस्ता तत्वहरू सगबगाउन थालेका छन्, यो सगबगाहट पुनःउत्थानका लागि हो। यतिबेला पुनःउत्थानको प्रयत्न जन्मसिद्ध विशेषाधिकार, वंश परम्परामा आधारित शासन सत्ता र अनिर्वाचित शासन सत्ताको पुनःस्थापनाको चाहनास्वरूप भएको हो,' उनको भनाइ छ।
राजतन्त्र स्थापना गर्ने कुरा त्यसैको ठोस अभिव्यक्ति भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पुनःउत्थानका लागि गरिने कुनै पनि प्रयत्न मासिनै पर्ने/नासिनै पर्ने विषय भएको बताए। 'विगत र भविष्य नभएका शक्तिहरू पनि लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने हतियार बन्ने कोसिस गरिरहेका छन्, नदेखिने गरी केही बाह्य शक्तिहरू यही खेलमा खेलाडी बन्ने प्रयत्न गरिरहेको आभाष भइरहेको छ। यसपटक गणतन्त्र दिवस मनाउन आयोजना भइरहेको जनस्तरको समारोहमा सहभागी हुनुहुने हरेक सहभागीले यिनै कुरा बुझेर सक्रिय सहभागी बनौँ र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढतापूर्वक अघि बढौँ।'
प्रकाशित: १५ जेष्ठ २०८२ ०७:१६ बिहीबार