राजनीति

संसद्‌मा पहिले रविले बोल्न पाएनन्, अहिले लेखकले

संसद् ‘डेडलक’ छ। गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणलाई विषयलाई लिएर प्रमुख प्रतिपक्ष दलहरूले संसद् अवरुद्ध गरेका छन्। उनीहरूको एकसूत्रीय माग छ— गृहमन्त्री लेखकको राजीनामा।

चौतर्फी विषय उठेपछि गृहमन्त्री लेखकले संसद्‌मा जवाफ दिने बताएका थिए तर, माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरूले जवाफ नभई राजीनामा चाहिएको अडान कसेका छन्।

मङ्गलबार (आज) बिहान ११ बजे संसद् बैठक बसेको थियो। त्यहाँ गृहमन्त्री लेखकले बोल्ने समय माग गरेका थिए। तर, बैठक सुरु हुनासाथ विपक्ष दलहरू नाराबाजीमा उत्रिए। यसपछि बैठक बस्न सकेन। फलत: बैठक बुधबार (भोलि) बिहान ११ बजेसम्मका लागि सरेको छ।

संसद्‌मा विपक्ष दलहरू विरोध जनाउँदै।

संसद् अवरोधको नेतृत्व संसद्‌मा रास्वपाले गरेको देखियो। सोमबार (हिजो) बसेको रास्वपाको संसदीय दलको बैठकले माओवादी र राप्रपालाई आफूसँगै उभिनका लागि आह्वान गरेको थियो। नभन्दै उनीहरू आजको संसद्‌मा सँगै उभिए। तर, त्यसमा पनि संसद्‌भित्र अलिक खह्रो भने रास्वपा नै देखियो। रास्वपा सांसदहरूले गृहमन्त्री लेखकलाई त के, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समेत बोल्न दिएनन्।

सभामुख देवराज घिमिरेले सचेतक घिमिरेलाई समय मात्रै के दिएका थिए, मुख्यत: रास्वपा सांसदहरू लबीमै निस्केर नाराबाजी गर्न थाले। त्यसमा माओवादी, राप्रपा, एकीकृत समाजवादीका सांसदहरूले पनि होमा हो मिलाए। यसपछि सभामुख घिमिरेले सचेतक घिमिरेलाई रोकिन आग्रह गरे। यसपछि बैठक स्थगित भयो, भोलिसम्मका लागि सर्‍यो। जे होस्, गृहमन्त्री लेखकलाई बोल्न पाएनन्। यसको नेतृत्व मुख्य रूपमा रास्वपाले नै गर्‍यो।

संसद्‌मा गृहमन्त्री रमेश लेखक।

ठीक यसैगरी झन्डै १५ महिना अगाडि कांग्रेसले पनि रास्वपाबाट गृहमन्त्री बनेका रवि लामिछानेका प्रति यस्तै व्यवहार गरेको थियो। जतिबेला गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएका थिए।

२०८० चैत २० गते बसेको कांग्रेसको संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेलाई संसद्‍को रोस्टममा जान नदिने निर्णय नै गरेको थियो। बैठकमा कांग्रेसले गर्‍यो पनि त्यस्तै। त्यसपछिका बैठकहरूमा गृहमन्त्री लामिछानेले बोल्नै पाएनन्। 

त्यसपछि कांग्रेसकै मागअनुरूप लामिछानेमाथि संसदीय छानबिन समिति बन्यो। समितिकै प्रतिवेदनका आधारमा लामिछाने पक्राउ परे, उनी अहिले पनि थुनामै छन्।

तत्कालीन गृहमन्त्री रवि लामिछाने।

त्यसपछि परिवर्तित राष्ट्रिय राजनीतिमा संसद्का दुई ठूला दलहरू कांग्रेस र एमालेको सरकार बन्यो। उक्त गठबन्धन बनाउनका लागि मुख्य भूमिका खेलेका लेखक नै गृहमन्त्री बने। तर, विवादितमुक्त रहन भने सकेनन्। अहिले उनी विवादित बनेका छन्। उनले राजीनामाको विषय सदन र सडक दुबैतिर ‘हटकेक’बनेको छ।

यसले रास्वपालाई फाइदा नै भएको छ कि पार्टी सभापति तथा तत्कालीन गृहमन्त्री लामिछानेका विरुद्ध लागेको कांग्रेसविरुद्ध फेरि आफू खनिन पाएको छ।

प्रकाशित: १३ जेष्ठ २०८२ १८:२८ मंगलबार

#Ramesh Lakahk #Rabi Lamechhane #Nagariknews