प्रतिनिधि सभाको मंगलबार बस्ने बैठकमा आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची छ । आगामी आर्थिक वर्षको बजेट ल्याउनु दुई दिनअघि आर्थिक सर्वेक्षण पेश गर्ने चलनअनुसार मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷८२ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको हो । तर भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आन्दोलनको मुडमा रहेका प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गर्ने तयारी गरेका छन् ।
नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा वर्तमान गृहमन्त्री लेखकले मन्त्रीहरुको राजीनामा मागेको नजिर प्रस्तुत गर्दै प्रतिपक्षी दलहरु संसदमा आन्दोलनको तयारीमा जुटेका हुन् । विगतमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्रीलाई राजीनामा माग गरेर सदन नै अवरुद्ध गरेको विषयलाई सशक्त ढंगले उठाउने भएका छन् ।
वर्तमान गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा संलग्न भएको कुरा बाहिर आएपछि उनको राजीनामाको विषय उठेको छ । उनले मंगलबारको बैठकमा जवाफ दिने तयारी गरेका छन् । प्रतिपक्षले गृहमन्त्रीको जवाफ सुन्ने हुन् वा हैनन् केही नबताए पनि राजीनामाको कुरालाई भने एकमात्र अजेन्डाको रुपमा अघि सार्ने तयारी उनीहरुको छ । संसद् सचिवालयका अधिकारीहरूले पनि प्रतिपक्षले सदनको कामकारबाही सहजरूपमा अघि बढाउन नदिन सक्ने अवस्था आउन सक्ने अनुमान गरेका छन् ।
भिजिट भिसा प्रकरणमा दोषी छन् वा छैनन् अनुसन्धानबाट मात्र थाहा हुने भन्दै अनुसन्धानलाई सहयोग गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको भनाइ छ ।
बहालवाल गृहमन्त्रीलाई राजीनामा नदिई अनुसन्धान गर्दा प्रमाण नष्ट हुनसक्ने भएकाले पनि नैतिकरूपमा लेखकले राजीनामा दिनुपर्ने माग प्रतिपक्षको छ ।
प्रकाशित: १२ जेष्ठ २०८२ १९:३३ सोमबार