राजनीति

जेठ १५ को आन्दोलन केन्द्रित रणनीति बनाउन राप्रपाले नेपालले डाक्यो केन्द्रीय समितिको विस्तारित बैठक

राप्रपा नेपालले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेको छ। जेठ १३ गते काठमाडौंमा बस्नेगरी अध्यक्ष कमल थापाले बैठक आह्वान गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

महामन्त्री बर्तौलाका अनुसार बैठकमा पार्टीका जिल्ला अध्यक्षहरूसमेत सहभागी हुनेछन्। बैठकको सुरुमा अध्यक्ष थापाले आन्दोलनसम्बन्धी रणनीति र कार्ययोजनासहितको कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यसपछि थप छलफल अगाडि बढ्ने महामन्त्री बर्तौलाले बताए।

'बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू काठमाडौं आइपुगिसक्नु भएको छ। आउन बाँकी भोलि बिहानसम्म आइपुग्नुहुन्छ,' उनले भने।

अन्य समयको केन्द्रीय समितिको बैठकमा जस्तो यो बैठकमा सचिवालय, संगठन र आर्थिकलगायतका प्रतिेवेदन पेस नहुने जनाइएको छ।

आन्दोलन केन्द्रित विषयमा मात्र छलफल हुने राप्रपा नेपालले जनाएको छ। जेठ १५ गतेको आन्दोलनलाई व्यवस्थित, प्रभावकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिनेछन्।

प्रकाशित: १२ जेष्ठ २०८२ १५:५० सोमबार

#kamalThapa #NagarikNews