राजनीति

सगरमाथा बेसक्याम्पबाट प्रधानमन्त्रीलाई विश्वप्रकाशको पत्र- तेन्जिङ शेर्पालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सगरमाथा बेसक्याम्पबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।

सगरमाथा आरोहणको तेस्रो क्याम्पसँग पुगेका शर्मा बेसक्याम्प झरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका हुन्। पत्रमार्फत शर्माले जलवायु परिवर्तनको सन्दर्भमा नेपालले नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। 

'सगरमाथा संवाद' आयोजनाका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै शर्माले अब जलवायु परिवर्तनको सन्दर्भमा नेतृत्व पनि नेपालले गर्नुपर्ने बताएका छन्।

सगरमाथा आरोहणको क्याम्प ३ सम्म पुग्दा हिमाललाई नजिकबाट नियकाल्ने मौका पाएको उल्लेख गर्दै शर्माले पत्रमा भनेका छन्, 'एकातर्फ सेताम्य हिमाल देखिँदै गर्दा अर्कातर्फ काला भित्ताहरू बढ्दै गएका छन्। हिउँ घट्दो छ, हिमपहिरो बढ्दो छ, हिमतालहरू अस्थिर बनिरहेका छन् र जोखिममा परिरहेका छन् मानव बस्तीहरू। यस्तो कारुणिक दृश्यले गम्भीर प्रश्न उब्जाउँछ- यही परिस्थिति रहिरहे अबको केवल डेढ/दुई दशकमा कस्तो हालतमा पुग्नेछन् हाम्रा हिमालहरू ?'

प्रधानमन्त्री ओलीलाई १९ बुँदामा पत्र पठाएका शर्माले जलवायु संकटसँग जुध्न अन्तर्राष्ट्रिय बहसमा पनि समस्याहरूको उठान गर्नुपर्ने बताएका छन्। 'आइसफल डाक्टर, व्यावसायिक आरोही, आरोहण संस्था, उद्धारकर्मी, श्रमजीवी भरिया हुँदै यो क्षेत्रमा कार्यरत सबैलाई राज्यले नजिकबाट चिन्न र तिनको पीडामा मल्हम लगाउन जरुरी छ,' उनले भनेका छन्। 

यो पनि पढ्नुहोस्

सगरमाथाको तेस्रो आधार शिविरबाट फर्किए विश्वप्रकाश

उनले सरकार प्रमुख भएको नाताले प्रधानमन्त्री ओलीलाई पत्रमार्फत नै सोधेका छन्, 'यी जनशक्तिलाई प्रोत्साहित गर्न सकिएन भने अबको दशकमा हिमाल त रहला तर, सेवा गर्ने हात रहेनन् भने तब आरोहण पर्यटन कसरी बाँच्न सक्ला ?'

यस्तै शर्माले प्रथम सगरमाथा आरोही तेन्जिङ शेर्पालाई राष्ट्रिय विभूति घोषणा गर्न मागसमेत गरेका छन्। एडमण्ड हिलारीलाई मरणोपरान्त `मानार्थ नागरिक´ ले सम्मानित गर्नसमेत शर्माको प्रस्ताव छ। 'यी दुवै व्यक्तित्वले त्यो बेला सगरमाथा आरोहण गर्दा र आजको हिमालमा फरक छ। अत: `हिजोको जस्तै हिमाल, खोजी´ अभियानमा मृत्युपश्चात् पनि तेन्जिङ र हिलारीको नाम र कामको उपयोग हुनसक्दछ । तेन्जिङ शेर्पालाई राष्ट्रिय विभूति बनाउँदा त्यसले सम्पूर्ण आरोही र हिमालकर्मीको सम्मानमा एकमुष्ट योगदानसमेत पुग्नेछ,' उनले भनेका छन्।

 

 

 

प्रकाशित: १२ जेष्ठ २०८२ १५:११ सोमबार

#Bishwa Prakash Sharma #kpsharmaoli