राजनीति

ठूलो रकम खर्चेर राजावादीहरुले भ्रमको खेती गरेः महासचिव पोखरेल

नेकपा (एमाले) महासचिव शंकर पोखरेलले प्राप्त संघीय लोकतन्त्रीक गणतन्त्रको विरुद्धमा ठूलो रकम खर्चेर राजावादीहरुले भ्रमको खेती गरेको आरोप लगाएका छन् ।  

एमाले बागमती प्रदेश कमिटिले ललितपुरको गोदावरीमा आयोजना गरेको निर्वाचित वडा अध्यक्षहरुको प्रशिक्षण भेलालाई संवोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।  

‘लामो बलिदानीले प्राप्त लोकतन्त्र संसारमै उत्कृष्ठ व्यवस्था हो’ महासचिव पोखरेलले भने, ‘त्यसलाई कमजोर बनाउन पछिल्लो समय राजावादीहरु सामाजिक सञ्जाल र सञ्चार माध्यममा मोटो रकम लगानी गरेर व्यवस्थाका विरुद्धमा लाग्ने काम गरेका छन् ।’  

राजाले प्रत्यक्ष सञ्चालन गरेको शासन प्रर्णाली भन्दा छोटो अवधिको गणतन्त्रात्मक शासन व्यवस्थाले नागरिकलाई बहुआयामीक क्षेत्रमा राहत दिने काम गरेको, विकास निर्माणको काममा फड्को मारेको दृष्टान्त प्रस्तुत गर्दै  उनले गणतन्त्रको विकल्प खोज्ने राजावादीहरुको दिवास्वप्ना कहिल्यै पुरा नहुने ठोकुवा गरे ।    

महासचिव पोखरेलले भने,  ‘पञ्चायती व्यवस्थामा धनी र गरिब बीचको खाडल २१ गुणा थियो, त्यो घटेर अहिले ६ गुणा भएको छ । मान्छेको औषत आयू ५४ वाट बढेर ७४ वर्ष पुगेको छ । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भौतिक पूर्वाधारको विकासको अवस्था हेर्दा निकै आकाश जमिनको फरक छ । अँझै नागरिकमा आशा फैलाउने गरी देशभर ठूलो ठूला विकास निर्माणका परियोजनाहरु सञ्चालनमै छन् । छोटो अवधिमा प्राप्त उपलब्धीहरु अध्ययन नगरेर लोकतान्त्रिक व्यवस्थामा काम भएन भन्ने भ्रमलाई चिर्दै आशा जागाउने अभियानको अग्रमोर्चामा वडा सरकार लाग्नु पर्छ ।  

कर्यकारी अधिकार र बजेटका हिसाबले हाम्रा वडा सरकारहरुसँग कम भएपनि प्रत्यक्ष रुपमा तिनै तहका सरकारलाई नागरिकको चुल्होमा जोड्ने काममा निकै महत्वपूर्ण भएकाले नागरिकमा आशा जगाउने कामको नेतृत्व वडाले लिनुपर्नेमा उनले जोड दिए।  

प्रकाशित: १२ जेष्ठ २०८२ १४:३० सोमबार

#Shankar Pokhrel #NagarikNews