गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन्। २०७२ असोजमा डा. बाबुराम भट्टराईसँगै पार्टी त्यागेका श्रेष्ठ सोमबार (आज) माओवादीमा समाहित भएका हुन्।
श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी नै माओवादीमा समाहित भएको हो। पुन: पार्टीमा फर्किएका श्रेष्ठले माओवादीले केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ। श्रेष्ठसँगै फर्किएका नेताहरूलाई पनि उचित व्यवस्थापन गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।
श्रेष्ठ समूह आइतबार (हिजो) मात्रै बनेको हो। डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी गतसाल नै फुटेको हो। त्यसबेला तत्कालीन अध्यक्ष महिन्द्र राय यादवको नेतृत्वमा यो समूह फुटेको थियो। त्यसताका श्रेष्ठ पार्टीका सहअध्यक्ष थिए।
डा. बाबुराम भट्टराई समूहबाट छुटिएका यादव र श्रेष्ठले त्यसबेलै माओवादीसँग पार्टी एकता गर्ने उद्घोष गरेका थिए। तर, अहिले आएर यादव भने माओवादीसँग एकता गर्नका लागि तयार भएनन्। यसपछि श्रेष्ठले आफ्नो नेतृत्वमा पार्टी पुनर्गठन गरेर माओवादीसँग एकता गरेका हुन्।
पछिल्लो संसदीय निर्वाचनमा यादव र श्रेष्ठ दुबै माओवादीकै चुनाव चिह्न हँसिया हथौडा र समर्थनमा निर्वाचित सांसद हुन्। यादव राजेन्द्र महतोलाई पराजित गर्दै सर्लाही २ बाट निर्वाचित भए भने श्रेष्ठ सिन्धुली २ को प्रदेशसभा २ बाट निर्वाचित भए। उनीहरू दुबैलाई माओवादीले समर्थन गरेको थियो।
यो पनि पढ्नुहोस्
माओवादी केन्द्र र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच एकता
प्रकाशित: १२ जेष्ठ २०८२ १४:३० सोमबार