नेकपा एमालेले जेष्ठ १५ गते आयोजना गर्ने विशाल जनप्रदर्शनलाई सफल पार्न नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेलामा नेताहरुको शक्ति परिचालन गर्नका लागि नेताहरुको जिम्मेवारी बाँडफाँडको सुची जानकारी गराइएको हो।
महासचिव शंकर पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रमहरू चिर्नका लागि जनप्रदर्शनको तयारी गरिएको हो।
जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूको भेलामा महासचिव पोखरेलले नेताहरुको जिम्मेवारी बाँडफाँडको जानकारी गराउनुभएको हो । पोखरेलका अनुसार काठमाडौं जिल्लाबाट व्यापक मात्र जनमानस परिचालन गर्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
जनसङ्गठनहरूको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसंगठनका इन्चार्जहरूले सघाउनुहुनेछ । एमालेमा ठूलो जनधार भएको सङ्गठनको रुपमा रहेको सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोल अनुसार फरक फरक नेताहरुलाई दिइएको छ । जस अनुसार सुदूरपश्चिम र र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदिप ज्ञवालीलाई दिइएको छ ।
लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ । कोशी प्रदेशका जिल्लाहरूको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ । मधेस प्रदेशका आठ वटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।
उपत्यकाका जनप्रदर्शनमा ठूलो संख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमशः अष्टलक्ष्मी शाक्य गुरु बराललाई जिम्मेवारी तोकिएको छ । उपत्यका बाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ । स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ। उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई दिइएको छ। सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्वकर्मालाई दिइएको छ ।
गणतन्त्र दिवसका दिन जेष्ठ १५ गते बिहान ११ बजे भृकुटी मण्डपमा एमालेका नेता कार्यकर्ता झाँकी र जुलुस र आफ्नो पार्टी,जनसङ्गठनको पहिचान सहित उपस्थित हुन पनि आजको भेलाले निर्देशन गरेको छ । हिजोको सचिवालय बैठकले जेष्ठ १५ गते काठमाडौं सहित सबै पालिकाहरूमा गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो।
प्रकाशित: १२ जेष्ठ २०८२ १२:०४ सोमबार