नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले देशलाई सही दिशामा लैजान सरकारको ढंग नपुगेको बताएका छन्। शनिवार आयोजित कांग्रेस अर्घाखाँचीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति पुनले दुई ठुला दल मिल्दासमेत सरकारप्रति जनता सन्तुष्ट हुन नसकेको बताएका हुन्।
सरकार र जनताबिच ठुलो खाडल परिसकेको दाबी गर्दै सभापति पुनले समयमै सरकार नसच्चिए यसले चरम असन्तुष्टि निम्त्याउने बताए । जनतामा निराशा बढिरहेकामा पनि उनले चिन्ता व्यक्त गरे।
‘सात बुँदे सहमति गरेर सत्तामा त पुग्यौँ,’ सभापति पुनले भने, ‘न ती बुँदा कार्यान्वयन भए, न सरकारको काम गर्ने ढंग पुगेको देखिएको छ।’
संघ सरकारजस्तै लुम्बिनी प्रदेश सरकार पनि काम गर्न नसकेको उनको भनाई छ। ‘प्रदेशहरू माथि नै प्रश्न उठिरहेका बेला सरकारले त्यही कुरालाई बल पुग्ने गतिविधि गरिरहेका छन्,’ सभापति पुनले भने। प्रदेश सरकारले ठिक ढंगले काम गर्न नसक्दा प्रदेश खारेज गर्नुपर्छ भन्नेहरूलाई बल पुगिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।
राजनीतिक संयन्त्रका विषयमा समेत सभापति पुनले असन्तुष्टि जनाए। ‘औचित्यहीन संयन्त्र गठन गरेर दलहरूलाई पंगु बनाउने काम भएको छ। संयन्त्रमा उठेका कुरामा ध्यान दिएर सरकारले सुझाव सुनेको भए हुन्थ्यो। यहाँ त न सरकारले सुन्ने गरेको छ, न ग्रहण नै,’ उनले भने।
सभापति पुनले संघ र प्रदेश सरकारले आफ्नो कार्यशैली सच्याउनु पर्ने धारणा व्यक्त गरे।
प्रकाशित: १० जेष्ठ २०८२ १७:४७ शनिबार