प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पोखरा बस्दा खाना लिएर भेट्न आउने स्थानीय राममाया रानाभाटलाई भेटेको तस्बिर सार्वजनिक गरेका छन्। शुक्रबार फेसबुकमार्फत तस्बिर सार्वजनिक गरेका हुन्।
‘पोखरा महानगरपालिका–१६ दीपमा बसोबास गर्नुहुने राममाया रानाभाट दिदी ८३ वर्षकी हुनुभयो,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘निरंकुश पञ्चायती कालमा मलाई बिना अभियोग जेल राख्ने क्रममा काठमाडौंको नख्खु जेलबाट २०३९ साल माघ ३ गते पोखरा जेल सारिएको थियो। अभियोग केही थिएन, शान्ति सुरक्षा खलल पार्ने आशंका भनिएको थियो’
तीन वर्षसम्म पोखरा जेलमा बस्दा ‘राममाया दिदी’ले आफूलाई कहिलेकाहीँ खाना लिएर भेट्न आएको उनले सम्झिएका छन्। ‘उहाँ मलाई बाबू भनेर सम्बोधन गर्नुहुन्छ। आज पोखरा जाँदा उहाँसँग भेट भयो–सञ्चो बिसञ्चो कुराकानी भयो। यसअघि पोखरा जाँदा पनि भेटेको थिएँ। राममाया दिदीसँग भेटेर खुसी लागेको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्।
प्रकाशित: ९ जेष्ठ २०८२ १९:५८ शुक्रबार