संसद्को सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारबारे आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसहित आज पत्राचार गरेको छ ।
समितिका कर्मचारी रमण खनालले अख्तियारमा सो पत्र आफै लगेका थिए । गत बुधबार समितिको बैठकमा सबै सदस्यहरूले अख्तियारमा लेखी पठाउनुपर्ने बताएपछि सभापति ऋषिकेश पोखरेलले निर्णयसहित उपसमितिको प्रतिवेदन शुक्रबार अख्तियारमा पठाएका हुन् ।
विमानस्थलबारे अध्ययनका लागि समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
अब अख्तियारले आवश्यक अनुसन्धान गरी थप कारबाही प्रक्रिया अघि बढाउनेछ। यो विषयमा अख्तियारले यसअघि पनि छानबिन गरिरहेको छ । सो प्रतिवेदनले अख्तियारको अनुसन्धानलाई बल पुग्ने बताइएको छ।
प्रकाशित: ९ जेष्ठ २०८२ १८:२० शुक्रबार