राजनीति

आत्मानुशासन, करुणा र अहिंसालाई जीवनमा अपनाऔँ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको शिक्षा प्रदान गर्ने भएकाले यसलाई व्यवहारमा लागू गर्नुपर्ने बताएका छन्।

शुक्रबार शीतल निवासमा ४७औँ लामा देशदर्शन भ्रमण पूरा गरी फर्किएका लामा र आनीलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्। ‘मूर्त र अमूर्त बौद्ध सम्पदाको संरक्षण गर्दै बौद्ध दर्शनका जीवनोपयोगी पक्षलाई व्यवहारमा उतार्न सके मुलुकको हितमा उपयोगी मार्ग बन्नेछ,’ उनले भने। 

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने उनको विश्वास छ। यस्ता भ्रमणले बौद्ध धर्म, दर्शनको संरक्षण, विकास र प्रवर्द्धनमा सहयोग पुग्ने तथा धार्मिक पर्यटन वृद्धिमा सकारात्मक योगदान दिने उनको भनाइ थियो।

‘बौद्ध तीर्थस्थल भ्रमणले मुलुकमा दिगो शान्ति र विकासमा सहयोग पुग्नेछ भन्नेमा म विश्वस्त छु,’ राष्ट्रपति पौडेलले भने। उनले यो यात्राबाट फर्किएका लामा र आनीले तीर्थयात्रामात्र नगरी नेपाली समाजमा धार्मिक एकता र आत्मिक समृद्धिको सन्देश पनि ल्याएको विश्वास व्यक्त गरे। समितिले बौद्ध शिक्षा, साधना र सांस्कृतिक जागरणमा गरेको योगदान प्रशंसनीय रहेको उनले बताए।

प्रकाशित: ९ जेष्ठ २०८२ १५:४३ शुक्रबार

#NagarikNews #RamChandraPoudel