चीन भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका प्रशासक लिउ गुओहोङबीच भेटवार्ता भएको छ।
भेटमा मन्त्री शाहीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै चीनलाई नेपालको घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकीका रूपमा उच्च महत्व दिएको बताए। उनले दुई देशबीच नियमित भ्रमण आदानप्रदानले सम्बन्ध थप बलियो भएको उल्लेख गरे।
मन्त्री शाहीले मानव–वन्यजन्तु द्वन्द्व, पारिस्थितिक प्रणाली पुनर्स्थापना, विपद् जोखिम न्यूनीकरण, मरुभूमि र सीमान्तकृत भूमिको पुनरुत्थान, बाँस र बेतको आनुवंशिक सुधार, काठ प्रशोधन, बाँस र बेतका उत्पादन विकास, वन्यजन्तु पालनलगायत क्षेत्रमा चीनसँग प्राविधिक सहयोग र सहकार्यका लागि आग्रह गरे। उनले नेपालबाट दुई गैँडा हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए।
चीनको बेइजिङमा अन्तरराष्ट्रिय बाँस तथा बेत सङ्गठन (इन्बार) परिषद्को १३औँ बैठकको अध्यक्षताका लागि शाही चीन भ्रमणमा छन्। नेपाल हाल इन्बारको अध्यक्ष राष्ट्र हो।
मन्त्री शाहीले इन्बारको संस्थापक सदस्य र १३औँ परिषद्को अध्यक्षका रूपमा नेपाल यसका कार्यक्रम र बैठकका नतिजा कार्यान्वयन गर्न तथा सहयोगका नयाँ अवसर खोज्न सबै सदस्य राष्ट्रसँग सहकार्य गर्न इच्छुक रहेको बताए। सन् १९९७ मा स्थापित इन्बारले बाँस र बेतको प्रयोगबाट वातावरणीय दिगो विकासलाई प्रवर्द्धन गर्छ। रासस
प्रकाशित: ९ जेष्ठ २०८२ १५:२९ शुक्रबार