पहिचानवादी मोर्चाले कुलमान घिसिङलाई मिलेर जानका लागि प्रस्ताव गरेको छ। २०८१ चैत ११ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी पदबाट निकालिएका घिसिङलाई मोर्चाले मिलेर राजनीतिक रूपमा अगाडि बढाउन प्रस्ताव गरेको छ।
प्रस्ताव लिएर बिहीबार (आज) मोर्चाका नेता डकेन्द्रसिं थेगिम घिसिङकहाँ पुगेका थिए। त्यस क्रममा आफूले औपचारिक/अनौपचारिक रूपमा मिलेर जानका लागि प्रस्ताव गरेको थेगिमले नागरिकसँग बताए।
आफ्नो प्रस्तावलाई घिसिङले सकारात्मक रूपमै लिएको पनि उनले बताए। 'प्रत्यक्ष/परोक्ष ढङ्गले उहाँलाई प्रस्ताव गरेँ। उहाँले त्यसलाई सकारात्मक रूपमै लिएको बताउनुभएको छ,' उनले भने।
घिसिङले आगामी दिनमा सोच्नेबारे जवाफ दिएका छन्। उनलाई उद्धृत गर्दै थेगिमले भने, 'धेरैले राजनीतिकै लागि सुझाव दिइरहनुभएको छ। त्यसमैले म निर्णयमा पुगिसकेको छैन। आगाम दिनमा विचार गर्छु।'
त्यसो त घिसिङ नेकपा (माओवादी केन्द्र) निकट मानिन्छन्। सुरुमा नेपाल विद्युत् प्राधिकरणमा माओवादी केन्द्र नेतृत्वकै सरकारले नियुक्ति दिएको थियो। त्यसबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र उपमहासचिव जनार्दन शर्मा ऊर्जामन्त्री थिए।
त्यहीबेला घिसिङ प्राधिकरणमा आएकाले पनि उनलाई माओवादी केन्द्रसँग जोडेर बुझिन्छ। तर, आफू कुनै पनि पार्टी नरहेको घिसिङले बताएका छन्। थेगिमले राजनीतिक विरासत, संलग्नता र वैचारिक समर्थनबारे सोध्दा घिसिङले आफू अहिलेसम्म स्वतन्त्र रहेको बताएका थिए।
'संयोगले प्रचण्ड प्रधानमन्त्री हुनुभएको बेलामा एमडीमा नियुक्ति पाइयो। एक राष्ट्र सेवकका रूपमा जनताको पक्षमा इमानदारिताका साथ काम पनि गरेँ, राम्रै भयो। तर, राजनीतिक रूपमा भने म कहीँ छैन। अब आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे सोच्दैछु,' घिसिङको जवाफ थियो।
आगामी दिनमा पनि चरणबद्ध रूपमा भेटेर आवश्यक सल्लाह गर्ने पनि थेगिमले बताएका छन्।
२०८१ पुस १२ गते घोषणा गरिएको मोर्चामा प्रा.डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चा, केपी पालुङ्वा नेतृत्वको नेपाल जनमुक्ति पार्टी, डकेन्द्र सिंह थेगिम नेतृत्वको प्रदेश नं. १ पुनःनामाङ्कन अभियान समिति र ज्ञानबहादुर गुरुङ सङ्घीय नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको प्रदेश नं १ समिति आबद्ध छन्।
समितिले पूर्वका सात जिल्ला इलाम, झापा, पाँचथर, ताप्लेजुङलगायतका स्थानमा समिति बनाइसकेको छ। निर्वाचन आयोगमा दर्ता भएर राजनीतिक दलकै रूपमा अगाडि बढ्न खोजिरहेको मोर्चाले आगामी आवधिक निर्वाचनको समेत तयारी गरिरहेको छ।
गत वर्षको वैशाखमा भएको संसदीय उपनिर्वाचनमा थेगिमले इलाम २ मा ११ हजार चार सयभन्दा बढी मत ल्याएका थिए।
प्रकाशित: ८ जेष्ठ २०८२ १८:१७ बिहीबार