राजनीति

अहिलेको सरकारप्रति जनताको वितृष्णा छ: अध्यक्ष दाहाल

बुर्तिबाङको जनसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल । तस्बिरः नागरिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारप्रति जनताको वितृष्णा बढेको बताएका छन् । 

बिहीबार बागलुङको बुर्तिबाङ बजारमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले भ्रष्टाचारी र बिचौलियाको पक्ष पोषण गर्दा जनतामा निराशा र वितृष्णा बढेको उल्लेख गरे । मध्य पहाडी लोकमार्ग अभियान कार्यक्रम अन्तर्गत उनले देशमा अनियमितता र भ्रष्टाचार बढेकाले जनता निराश भएको बताए ।

‘वर्तमान सरकारका कारण देशमा भ्रष्टाचार र अनियमितता बढेको छ, गरिब दलित र किसान वर्गको समस्या अहिलेको सरकारले सुन्नै चाहेको छैन,’उनले भने,‘हामी यो सरकारलाई जनताको बिचबाट खबरदारी गर्न यहाँ आएका छौँ ।’ वर्तमान सरकार बहुमतको घमण्डमा अगाडि बढ्न खोजिरहेको उनको भनाई छ । ‘हामीले घमण्डमा डुबेको सरकारलाई सचेत गराइरहेका छौँ, यो सरकारले आम नागरिक र पिछडिएको वर्गको कुरा सुन्नै नचाहेका कारण ठूलो विद्रोह हुनसक्ने अवस्था छ,’उनले भने,‘यही जनताको निराशामाथि खेलेर प्रतिगामीहरूले टाउको उठाएर प्राप्त उपलब्धि उल्ट्याउन खोजिरहेका छन् ।’

दाहालले हुलाकी मार्ग, मध्य पहाडी लोकमार्ग, मदन भण्डारी मार्ग लगायत देशका महत्त्वपूर्ण राजमार्ग आफ्नो पहलमा भएको बताए । ‘देशका लागि दीर्घकालीन महत्त्व राख्ने पुष्पलाल मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्ग मदन भण्डारी मार्ग हाम्रै पार्टीको पहलमा भएको हो,’उनले भने,‘हामीले राम्रो काम गरिरहेको बेलामा भ्रष्टाचारीहरू डराएर अर्को गठबन्धन बनाउन पुगे । जसले गर्दा हामी अहिले जनताको आगनमा आइपुगेका छौँ ।’ उक्त अवसरमा ढोरपाटन निसी तमानका राजनीतिक दलले ज्ञापन पत्र बुझाएका थिए ।

उक्त ज्ञापन पत्र बुझ्दै दाहालले उत्तरगंगा जलासययुक्त आयोजना रुकुम क्षेत्रमा बन्नेकी बागलुङमा बन्ने विषय नागरिक स्तरमा अन्योल रहेकोले बागलुङमै बन्ने गरी पहल गर्ने बताए । ढोरपाटन सिकार आरक्षको वफरजोन बनाउने विषय नागरिकसँग पहिले नागरिकसँग समन्वय र सहकार्य गर्नुपर्ने, सालझण्डी ढोरपाटन सडक, मध्य पहाडी लोकमार्ग लगायतका विषयमा स्थानीय राजनीतिक दलले संयुक्त रुपमा दाहाललाई ज्ञापन पत्र बुझाएका थिए । उक्त कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल एमाले परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । 

प्रकाशित: ८ जेष्ठ २०८२ १७:०४ बिहीबार

#puspakamal dahal #अध्यक्ष पुष्पकमल दाहाल