राजनीति

राजावादीलाई सरकारको चेतावनी: सधैँ टुलुटुलु हेरेर बसिन्न

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सधैँ  संविधान विरोधी क्रियाकलाप भइरहे सरकार टुलुटुलु हेरेर नबस्ने बताएका छन्। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले राजावादीलाई लक्षित गर्दै यस्तो बताएका हुन्। 

‘सधैँ संविधान विरोधी क्रियाकलाप गरिरहने हो भने सहन सकिँदैन,’ मन्त्री गुरुङले भने, ‘सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन । तर, अहिले हामी गतिविधि कस्तो हुनेछ भन्ने आधारमा त्यसको प्रतिक्रिया हुन्छ।’ 

राजावादीहरूले जेठ १५ गतेबाट आन्दोलनको तयारी गरेका छन्। त्यो दिन प्रदर्शन गर्न सरकारले दिएको उदारतालाई कमजोरी नठान्न पनि मन्त्री गुरुङले राजावादीलाई चेतावनी दिए। 

‘हामीले फेरि पनि उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकार छुट दिएकै छ । यो हाम्रो कमजोरी होइन। हामी डराएर गरेका हैनौँ। त्यसरी प्रदर्शन गर्न छुट दिँदा कमजोरी नठाने हुन्छ,’ मन्त्री गुरुङले भने। 

संविधान विरोधी गतिविधिमा प्रतिबन्ध लगाउन सक्ने छुट संविधानले नै दिएको पनि मन्त्री गुरुङले दाबी गरे। उनले भने, ‘आजको दिनसम्म पनि प्रतिबन्ध लगाएका छैनौँ । त्यो गर्ने छुट संविधानमै पनि छ।’

प्रकाशित: ८ जेष्ठ २०८२ १४:३९ बिहीबार

#Prithbi Subba Gurung #Rajabadi Aandolan