राजनीति

४० वर्ष मुनीका युवासँग छलफल गर्दै राजेन्द्र लिङ्देन

जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरूको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको पूर्व सन्ध्यामा ४० वर्ष भन्दा मुनीका विभिन्न पेसा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तर संवाद गर्ने भएका छन् ।

जेठ १२ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने उक्त कार्यक्रमको नाम 'अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा' दिइएको छ । सो कार्यक्रममार्फत युवाहरूमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरूको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालले बताए ।

राप्रपाले भनेको व्यवस्था परिवर्तन के हो ? अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नैपर्ने आवश्यकता किन हो ? राप्रपाले भनेको राजसंस्था कस्तो हो ? हिन्दु राष्ट्र पुनर्स्थापना र सङ्घीयताको खारेजी गर्नुपर्ने कारण के हो ? आन्दोलनमा युवा किन सहभागी हुने भन्नेजस्ता युवाका जिज्ञासालाई प्रत्यक्ष रुपमा अध्यक्ष लिङ्देनले जवाफ दिन लागेका हुन् ।

राप्रपाले बोकेका राजनीतिक एजेन्डाका साथै अन्य आर्थिक, सामाजिक एजेण्डा र नीति के के हुन् ? आन्दोलनपछिको मार्गचित्र के हो ? भन्ने बारेमा पनि युवाहरुले जिज्ञासा राख्न सक्ने गरी कार्यक्रमको ढाँचा तय गरिएको विभागका प्रमुख रिमालको भनाइ छ ।

राप्रपाले राजाको मुद्दा मात्र बोक्छ, राजा भनेको कस्तो राजा हो रु दैनिक जनजीविकासँग सम्बन्धित राप्रपाका एजेण्डा र नीति के हुन् भन्ने बारेमा आजको पुस्तालाई बुझाउनुपर्ने आवश्यकता छ । यो व्यवस्था विरुद्ध सडकमा किन आउने भन्ने बारेमा युवाहरूलाई जागृत गराउने प्रयास हो, प्रमुख रिमालले भने ।

राप्रपाले उक्त दिन राजनीतिक र गैर राजनीतिक सबै क्षेत्रका युवाहरूलाई आमन्त्रित गरेको छ । राप्रपा भन्ने बित्तिकै पुरानो पुस्ताको पार्टी हो भन्ने भ्रम चिर्नका लागि यो कार्यक्रम सहयोगी हुने राप्रपाले विश्वास लिएको छ। यसअघि पनि राप्रपाले प्रबुद्ध वर्ग, उपत्यकाका नेवाः समुदाय लगायतसँग छलफल गरिरहेको छ भने १५ गतेको आन्दोलनलाई लिएर उपत्यकाव्यापी कार्यकर्ता भेलाहरू आयोजना गरिरहेको छ ।

यस क्रममा संयुक्त जनआन्दोलन समितिले आबद्ध दलहरूसँग निरन्तर बैठक, आ(आफ्ना मातहतका कमिटीहरूसँग छलफल र लक्षित वर्गहरूसँग तयारी बैठक गरिरहेको छ।

प्रकाशित: ८ जेष्ठ २०८२ १३:२७ बिहीबार

#Rajendra Ligdan