राजनीति

एमाले जान धेरै कोसिस गरेँ, तर अपमान गरियो : वामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले नेकपा (एमाले) मा जानका लागि धेरै कोसिस गरेको बताएका छन्।

तर, आफूलाई उल्टै अपमान गरिएको उनले बताएका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा बोल्दै उनले भने, 'एमालेमा जान धेरै कोसिस गरेँ। तर, अपमान गर्नुभयो।'

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो संवाद भएको तर, त्यसअनुरूप काम नभएको बताए। 'एकीकृत समाजवादीसँग एकताको कुरा हुँदै थियो। केपीले बोलाउनुभयो। तपाईं आउनुस् भन्नुभयो। मैले समाहित हुन्छु भनेँ। उहाँले आफ्नै घरमा केको समाहित, केको एकता, केको प्रवेश भन्नुभयो। मैले हुन्छ भनेको थिएँ तर, कार्यान्वयन भएन,' उनले भने।

उनले ओलीलाई 'तपाईं जे भन्नुहुन्छ, त्यही मान्छु' पनि भनेको बताए। 'केपीले मैले के भन्छु, त्यही समाजवाद हुन्छ भन्नुभयो। मैले त्यसमा सहमतचाहिँ छैन तर, हुन्छ भनेँ। तर, पनि उहाँले मलाई समाहित गर्ने कुराको कार्यान्वयन गर्नुभएन,' उनले भने।

यस्तै उनले अहिलेका लागि आफ्ना लागि उपयुक्त पार्टी एकीकृत समाजवादी भएको बताए। एकीकृत समाजवादीसँग एकताका लागि कुरा भइरहेको उल्लेख गर्दै उनले भने, 'मेरो लागि उपयुक्त पार्टी एकीकृत समाजवादी नै हो।'

प्रकाशित: ७ जेष्ठ २०८२ १९:१४ बुधबार

#Bamdev Gautam