परराष्ट्रमन्त्री डा आरजु राणाले शुक्रबार विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन्।
बेलायतको संसदीय मामिलासम्बन्धी उपमन्त्री ब्यारोनेस हमेनले सगरमाथा संवादमा सहभागी हुन नेपाल आएको अवसरमा राणासँग भेट गरेकी हुन्। उनीहरूबिच नेपाल र बेलायतको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धबारे छलफल भयो।
राणाले बेलायतको आर्थिक र सामाजिक क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिइन्। जलवायु परिवर्तनको असर कम गर्न संयुक्त सहकार्य र अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायका लागि नेपालले गरेको मागमा बेलायतको सहयोग अपेक्षा गरेको उनको भनाइ थियो।
त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई) का सहायक विदेशमन्त्री अब्दुल्लाह बलालाले पनि राणासँग भेट गरेका छन्। उनीहरूले नेपाल–युएई सम्बन्ध, आपसी हित र जलवायु परिवर्तन न्यूनीकरणमा सहकार्यका विषयमा कुराकानी गरेको सचिवालयले जानकारी दिएको छ।
यसैगरी अजरबैजानका राष्ट्रपतिका जलवायु विशेष प्रतिनिधि एवं कोप २९ का अध्यक्ष मुख्तर बाबायबले राणासँग भेट गरेकी छिन् । उनीहरूबिच नेपाल–अजरबैजान सम्बन्ध र जलवायु परिवर्तनमा सहकार्यका सम्भावनाबारे छलफल भएको थियो।
प्रकाशित: २ जेष्ठ २०८२ १९:२५ शुक्रबार