नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी पुन: आफ्नै वर्गतिर फर्किएको बताएका छन्। जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत बैतडीको पाटन पुगेका दाहालले यस्तो बताएका हुन्।
यसबीचमा पार्टी र नेताहरूले पनि कमजोरी गरेको र त्यो अनुभूति आफूहरूले गरेकाले पुन: आफ्नै वर्गसँग जोडिनका लागि अभियान सञ्चलान गरिरहेको पनि उनले बताए।
'हामी फेरि आफ्नै वर्गतिर फर्किएका छौँ, आफ्नै समुदायतिर फर्किएका छौँ। जब हामीले आत्मसमीक्षा गर्यौँ र नयाँ आर्थिक क्रान्ति गर्ने, अभियान चलाउने सङ्कल्पसहित आएका छौँ,' उनले भने, 'उपचुनाव भयो, हामी पहिलो पार्टी भयौँ। कांग्रेस-एमालेसँग मिल्दा कमजोर हुने रहेछौँ। स्ववियुको निर्वाचनमा पनि धेरै ठाउँमा जित्यौँ।'
उनले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तमा चलखेल गरिरहेको पनि बताए। 'राष्ट्र बैंकको गभर्नर कहिलेसम्म नल्याउने हो ? तत्काल नियुक्त हुनुपर्ने पद हो त्यो। तर, सरकार अनेक चलखेल र प्रपञ्चमा लागिरहेको छ। त्यसैले सरकार गलत दिशातिर गयो। बिचौलियाहरूले बनाएका हुन् यो सरकार,' उनले भने।
प्रकाशित: २ जेष्ठ २०८२ १४:२९ शुक्रबार