राजनीति

यस्तो छ चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओको नेपाल भ्रमण तालिका

चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बिहीबार राति काठमाडौं आइपुगेका छन्।  

उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका उपाध्यक्ष सिआओ सरकारले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुने कार्यक्रम छ।  

बिहीबार राति ११:५ मा काठमाडौं आइपुगेका उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समुहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छन् सोङ, संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय लगायतले स्वागत गरेका थिए।

उपाध्यक्ष सियाओले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गर्ने छन् भने उपसभामुख इन्दिरा राना मगरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

उनको सम्मानमा उपसभामुख रानाले आज साँझ रात्रिभोजको आयोजना गर्ने छिन्। उपाध्यक्ष सियाओ नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले सगरमाथा संवादमा सहभागी हुनुका साथै काठमाडौंका बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रम समेत रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिएका दिए।  

प्रतिनिधि मण्डल भ्रमण सम्पन्न गरी जेठ ३ गते दिउँसो चीन फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: १ जेष्ठ २०८२ १२:०२ बिहीबार

#Nepalchina