राजनीति

गौतमबुद्धका सन्देश सबैका लागि उपयोगी : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति रामवरण यादवले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी भएको बताएका छन्। बुद्धका सन्देश देश-विदेशमा फैलाउन सबै पक्ष र क्षेत्र लाग्नुपर्ने उनले बताए।

काभ्रे सेवा समाजले बुद्धजयन्तीका अवसरमा पनौतीदेखि नमोबुद्धसम्म आयोजित शान्ति पदयात्राको उद्घाटन गर्दै यादवले परिवर्तित समयमा पनि बुद्धका सन्देश हरेक नागरिकका लागि उपयोगी भएको बताए।

‘गौतमबुद्धका सन्देशलाई विश्वव्यापी बनाउन आवश्यक छ, यसका लागि सबै पक्ष लाग्नु आवश्यक छ,’ उनले भने।

शान्ति र सद्भावको सन्देश फैलाउन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न र स्थानीय कला, संस्कृति संरक्षण गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले बताए।

पनौतीको मानेश्वरीदेखि सुन्थान–ईंटे–शङ्खु–शङ्खेश्वरी–जङ्गल हुँदै नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा भएको हो। समाजले २०८० असोजमा पनि यही मार्गमा पदयात्रा गरेको थियो। आयोजकका अनुसार पदयात्रामा पाँच सयभन्दा बढी सहभागी थिए।

प्रकाशित: २९ वैशाख २०८२ १४:०३ सोमबार