राजनीति

धरानमा दाहालले ढाँटे : अन्तिमसम्म कोशी प्रदेशको नाम पहिचानकै आधारमा हुनुपर्छ भनेका थियौँ

'अब किरात, लिम्बुवान् र कोच समेटेर नाम राख्छौँ'

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले बहुमत ल्याए कोशी प्रदेशको नाम फेरेर पहिचानको आधारमा राख्ने उद्घोष गरेका छन्।

आइतबार (आज) धरानमा आयोजित किराती र लिम्बुवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उद्घोष गरेका हुन्।

तत्कालीन प्रदेश नं. १ को नाम कोशी हुँदा आफ्नो पार्टी अन्तिम समयसम्म पहिचानकै आधारमा नाम राख्नुपर्नेमा दृढ रहेको उनले दाबी गरे।

'अहिले पनि हामीले १ नम्बर नै प्रदेश भनेका छौँ। हाम्रो पार्टी यस प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्छ भनेर लडिरहेकै थियो। अहिले पनि पहिचानकै आधारमा नाम हुनुपर्ने भन्ने सिद्धान्तबाट थोरै पनि विचलित भएका छैनौँ। तर, सङ्ख्याले केही कन्फ्यूजन भयो। हामीले केन्द्रमा समीक्षा गर्‍यौँ र त्रुटि भयो भनेर सच्यायौँ। अब सङ्ख्या पुग्छ भने किरात, लिम्बुवान् र कोच भावना समेट्ने गरी प्रदेशको नामाकरण गर्नुपर्ने भन्नेमा दुविधा छैन,' उनले भने।

तत्कालीन प्रदेश नं. १ ले २०७९ फागुन १७ गते कोशी नाम पाएको थियो। त्यसबेला नेकपा (एमाले) का सांसद रामबहादुर राना मगरले प्रस्तावित गरेको कोशी नाममा दाहालको दल माओवादी केन्द्रले समेत समर्थन जनाएको थियो।

पछि त्यसको विरोध भएपछि माओवादी केन्द्रले त्यो निर्णय फिर्ता त लियो। तर, उमाथि लागेको आरोप भने ज्युँका त्युँ छ। यही सन्दर्भमा दाहालले आउँदो आवधिक निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याए नाम फेर्ने बताउने गरेका छन्।

प्रकाशित: २८ वैशाख २०८२ १४:४३ आइतबार

#Pushpakamal Dahal