प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा तीव्र गतिमा विकास भइरहेको बताएका छन्। उनले त्यहाँ पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिमा उल्लेखनिय प्रगति भएको सुनाए।
आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा कर्णालीको विकासबारे उठेका प्रश्नको जवाफ दिँदै उनले पुँजीगत लगानी अझै बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले कर्णालीको सबैभन्दा विकट क्षेत्र हुम्लाको सिमिकोटमा विमानस्थलमार्फत हवाई सेवा सञ्चालन भइरहेको र बेलीब्रिज निर्माणसँगै सडक यातायातले गति लिएको बताए।
“हुम्ला, मुगु र बाजुरा जोड्ने सडक निर्माण भइरहेको छ। हेल्सा र नाग्मालाई जोड्ने काम पनि अघि बढेको छ,” उनले भने। उनले कर्णालीको सिँजा उपत्यकालाई ऐतिहासिक र सांस्कृतिक महत्वअनुरूप विकास गर्न रारा र उभो कर्णाली जोड्ने सडक निर्माणको काम केही वर्षभित्र सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरे।
जुम्लाको चन्दननाथमा विमानस्थल सञ्चालनमा रहेको र सडक सञ्जाल विस्तारले स्थानीयको जीवनस्तरमा सुधार आएको उनले उल्लेख गरे। “कर्णालीमा सडक, विमानस्थल र पूर्वाधारले नयाँ गति लिएको छ। विकासमा ध्यान नपुगेको भन्ने गुनासो सत्य होइन,” उनले जोड दिए।
कर्णालीमा शैक्षिक क्षेत्रमा भएको प्रगतिलाई हाइलाइट गर्दै प्रधानमन्त्रीले पहिले विद्यालयको पहुँच सीमित रहेकोमा अहिले व्यापक सुधार आएको बताए।
“पहिले कर्णालीमा छोरीहरूले पढ्नु ठूलो कुरा थियो। अहिले छात्र र छात्राको सङ्ख्या बराबर छ। कालिकोटमा त एसइईमा छात्राभन्दा छात्रको सङ्ख्या बढी छ,” उनले भने।
जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको र दैलेख, मुगु, हुम्लालगायत क्षेत्रमा ५० शय्याको अस्पताल निर्माण भइरहेको जानकारी उनले दिए। “यी अस्पतालले अछामदेखि कर्णालीका सबै क्षेत्रका बासिन्दालाई सेवा प्रदान गर्नेछन्,” उनले थपे।
खानेपानी आयोजना र विद्यालय भवन निर्माणले स्थानीयको जीवनमा ठूलो परिवर्तन ल्याएको उनको भनाइ थियो। “कर्णालीमा विद्यार्थी उत्साहका साथ पढ्ने वातावरण बनेको छ। आयुर्वेदिक अस्पतालहरू पनि सञ्चालनमा छन्,” उनले भने।
प्रधानमन्त्रीले कर्णालीको कृषि र स्थानीय उत्पादनको सम्भावनालाई उजागर गर्दै मार्सी चामल, यार्सागुम्बा, गुची च्याउ, स्याउ र जैतुन खेतीमा ध्यान दिइएको बताए। “मार्सी चामलको चर्चा देशव्यापी छ। डोल्पाको गुची च्याउ र स्याउ खेतीले कर्णालीको पहिचान बनाउँदैछ,” उनले भने। उनले यी उत्पादनको व्यावसायीकरण र बजार व्यवस्थापनमा सरकारले प्राथमिकता दिएको उल्लेख गरे।
कर्णालीमा पुँजीगत लगानी अझै बढाउनुपर्ने आवश्यकता रहेको स्वीकार गर्दै प्रधानमन्त्रीले सरकारले विगत एक महिनादेखि यस दिशामा प्रयास गरिरहेको बताए। “कतिपय ठाउँमा जग्गा विवादका कारण आयोजना अघि बढ्न सकेका छैनन्। यी समस्यालाई समाधान गर्न सरकार सक्रिय छ,” उनले भने।
सिँजा उपत्यकाको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै उनले कर्णालीको गौरवपूर्ण इतिहासलाई संरक्षण र प्रवर्द्धन गर्ने नीति रहेको बताए। “चन्दननाथ मन्दिर र सिँजा उपत्यकालाई पर्यटकीय र सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ,” उनले भने।
प्रकाशित: २८ वैशाख २०८२ १४:२९ आइतबार