राजनीति

कर्णालीको पर्यटन विकासमा सबैको सहकार्य आवश्यक : मुख्यमन्त्री कँडेल

फाइल तस्बिर

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै सरोकारवाला निकाय एकजुट भएर काम गरे विकास सम्भव हुने बताएका छन्। चितवनको क्षेत्रीय होटल संघको समन्वयमा ‘घुमौँ सौराहा, चितवन अभियान’ नारासहित सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित कार्यक्रममा उनले सहकार्य र समन्वयबाट देश विकासमा जुट्नुपर्ने बताएका हुन्।

मुख्यमन्त्री कँडेलले सरकार र कर्मचारीले मात्र विकास गर्नुपर्छ भन्ने सोच त्यागेर सबैले साझा जिम्मेवारी लिनुपर्ने बताए। उनले भने, ‘देश विकासका लागि सरकारको मुख्य भूमिका रहनुका साथै यसको गतिलाई प्रभावकारी बनाउन निजी क्षेत्रको पहल र भूमिका पनि महत्त्वपूर्ण हुन्छ। सङ्घीय प्रणालीमा नयाँ व्यवस्था र संरचना बनाएका छौँ। तर, ती संरचनालाई निर्देश गर्ने पुराना कानुनले जनताको चाहनाअनुसार काम गर्न समस्या भइरहेको छ।’

जनता र जनप्रतिनिधिको अपेक्षाअनुसार कानुन नबन्दा समस्या भएको भन्दै उनले पुराना कानुनलाई छिटो विस्थापित गर्नुपर्नेमा जोड दिए। कर्णालीको आन्तरिक आम्दानी र विकासका लागि पर्यटन प्रवर्द्धन मुख्य आधार भएको उनको भनाइ थियो। चितवनबाट कर्णालीसम्म व्यवसायिक महत्त्व झल्काउन आएकाहरूलाई सहकार्य र समन्वयमा अघि बढ्न उनले आग्रह गरेका छन्।

‘कर्णालीमा राराताल, फोक्सुण्डो ताल, छायाँनाथ, बाला त्रिपुरासुन्दरीलगायत पर्यटकीय क्षेत्र छन्। तर, विकासको मूलधारमा नआउँदा यी ओझेलमा परेका छन्। कर्णाली करिडोरबाट रारा, भेरी करिडोरबाट डोल्पा जान सकिन्छ। पर्यटकीय क्षेत्रको विकासमा सबै एकजुट भएर काम गर्नु अहिलेको आवश्यकता हो,’ मुख्यमन्त्री कँडेलले भने। रासस

प्रकाशित: २८ वैशाख २०८२ १३:०५ आइतबार

#NagarikNews #KarnaliProvince