राजनीति

दाहालको टिप्पणी: दुई तिहाइवाला सरकारको हाल रुझेको बिरालाजस्तो छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमाले गठबन्धन सरकारको अवस्था निकै दयनीय बनेको बताएका छन्। शनिवार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। 

‘दुईतिहाइवाला सरकारको हाल रुझेको बिरालाको जस्तो छ,’ अध्यक्ष दाहालले भने,‘राम्रो काम त गर्नै सकेको छैन। नराम्रो काम पनि रोक्न सकेको छैन।’ उनले आफूले भन्ने गरेको ‘सरकार आफ्नै कुकर्मले ढल्छ’ भन्ने कुरा पनि दोहोर्‍याए। उनले भने,‘जुन देखिँदै गएको छ।’ 

माओवादी केन्द्रले कांग्रेस र एमालेसँग कहिले वर कहिले पर गर्दा घाटा भएको दाहालले बताए। ‘कहिले वर, कहिले पर गर्दा उनीहरूलाई ठुलो बनाउन हामीले भूमिका खेल्यौँ। तर उनीहरूले हामीलाई सानो बनाउन कुनै कसर बाँकी राखेनन्,’ अध्यक्ष दाहालले भने। 

अब आफ्नै खुट्टामा उभिने पनि उनले बताए। उनले भने,‘हामी आफ्नै खुट्टामा उभिएर जान्छौँ। कुनै भ्रममा नपर्नुहोला। उपचुनावमा हामी एक नम्बर पार्टी बनेर देखायौँ। स्ववियू चुनावमा पनि त्यस्तै भयो।’ 

प्रकाशित: २७ वैशाख २०८२ १६:०० शनिबार

#Puspa Kamal Dahal #Prachanda